वीरगन्जमा पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाहीको माग
पत्रकार महासंघ पर्सा शाखाले मंगलबार राति एक विज्ञप्ति जारी गरेर पत्रकारहरु घाइते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

३ वैशाख, काठमाडौं । नेपाल पत्रकार महासंघ पर्साले जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि मंगलबार बेलुकी हिन्दुवादीले गरेको प्रदर्शनको समाचार संकलन गर्ने क्रममा आक्रमण गरि पत्रकारहरूलाई घाइते बनाउने दोषीहरूलाई कारबाहीको माग गरेको छ।
मंगलबार बेलुकी जिल्ला प्रहरी कार्यालय अगाडि हिन्दुवादीले गरेको प्रदर्शनको समाचार संकलन गरिरहेका पत्रकार एभीन्युज टिभीका अर्जुन गुप्ता, मध्य नेपाल सन्देशका अनिल ओझा र चन्द्रसूर्य वाणीका धिरेन्द्र तिवारी आक्रमणमा परी घाइते भएका छन्। गुप्ताको टाउको फुटेको छ भने ओझा र तिवारीको खुट्टामा गम्भीर चोट लागेको छ।
पत्रकार महासंघ पर्सा शाखाले मंगलबार राति एक विज्ञप्ति जारी गरेर पत्रकारहरु घाइते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। समाचार संकलनकै क्रममा पत्रकारहरूमाथि भएको आक्रमणका दोषीहरुको पहिचान गरेर कानुनी कारबाहीको दायरामा ल्यान पत्रकार महासंघ पर्सा शाखाले माग गरेको छ।