चुनकुमारीको हत्या गर्ने श्रीमानसहित ६ जना पक्राउ गर्ने प्रहरीलाई सर्वोत्कृष्ट प्रहरी अवार्ड
दक्षिण कोरियामा बसेर धनकुटाकी चुनकुमारी बुढाथोकीको हत्या गर्ने उनका श्रीमानसहित ६ जना अभियुक्तलाई पक्राउ गरेका उनलाई अवार्ड प्रदान गरिएको हो।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक दिवस कुँवर सर्वोत्कृष्ट प्रहरी अवार्डबाट पुरस्कृत भएका छन्। दक्षिण कोरियामा बसेर धनकुटाकी चुनकुमारी बुढाथोकीको हत्या गर्ने उनका श्रीमानसहित ६ जना अभियुक्तलाई पक्राउ गरेका उनलाई अवार्ड प्रदान गरिएको हो।
गत चैत २५ गते सुनसरीको धरान उपमहानगरपालिका-६ स्थित पाँचकन्या जंगलमा मृत भेटिएकी धनकुटाको महालक्ष्मी नगरपालिकाकी चुनकुमारी बुढाथोकीको हत्यामा संलग्न दक्षिण कोरियामा रहेका उनका श्रीमान प्रेमबहादुर बुढाथोकी सहितको पहिचान गरी ६ जनालाई पक्राउ गरेका कुँवरलाई शनिबार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले अवार्डबाट पुरस्कृत गरेको हो।
कोरियामा रहेका प्रेमबहादुरको मुख्य योजनामा चुनकुमारीको हत्या गरी जंगलमा शव फालेर बेपत्ता भएका ७ जना अभियुक्तको पहिचान गरेबापत प्रहरी निरीक्षक कुँवरलाई चैत महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरी पुरस्कृत गरिएको कोशी प्रदेश प्रहरी प्रमुख डीआइजी राजन अधिकारीले बताए।
कोरियामा रहेका प्रेमकुमारसहित मोरङ पथरी शनिश्चरे नगरपालिका-३ संगमचोक बस्ने मुख्य योजनाकार प्रेमको आफ्नै भाइ २९ वर्षीय ढकेन्द्र बुढाथोकी र उनकी श्रीमती २५ वर्षीय सृष्टि बुढाथोकी पक्राउ परेका थिए।
मोरङकै पथरी शनिश्चरे वडा नं ३ का ४० वर्षीय केशवराज दाहाल, मिक्लाजुङ गाउँपालिका-७ लुमाङदिङ घर भई विगत ७ वर्षदेखि मोरङको उर्लाबारी नगरपालिका-५ फागुटोल बस्ने ३६ वर्षीय योगेन्द्र गौतम र उनकी श्रीमती २८ वर्षीय डेनु गौतम पक्राउ परेका छन्। दुवैजना प्रेमबहादुरका बहिनी ज्वाइँ हुन्।
कुँवरले चुनकुमारीको हत्यामा संलग्न अभियुक्त पक्राउ, लागुऔषध गाँजा कारोबारी पक्राउ र विभिन्न आपराधिक घटनामा संलग्न १८ जना फरार अभियुक्त पक्राउ गरी धरानको शान्ति सुरक्षा मजबुत बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले पुरस्कृत गरिएको बताए।