७ वैशाख, काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभिरबाट एक यात्रुसहितको मोटरसाइकल त्रिशुली नदीमा खसेको छ ।
आज दिउँसो काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश– ०५४ प ४०५४ नम्बरको मोटरसाइकल कृष्णभीरबाट करिब २ सय मिटर तल त्रिशूली नदीमा खसेको थियो ।
नदीबाट अचेत अवस्थामा एक व्यक्तिको उद्दार गरिएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले बताए ।
अचेत अवस्थामा उद्दार गरिएका युवाको साथबाट सिन्धुलीको तीनपाटन गाउँपालिका–९ ठेगाना भएको मीनबहादुर तामाङ नामको मतदाता परिचयपत्र समेत प्रहरीले फेला पारेको छ ।
उद्दार गरिएका व्यक्ति अचेत रहेकाले उनको पहिचान हुन सकेको छैन भने उक्त मोटरसाइकलमा समेत उनी मात्रै थिए अर्को व्यक्ति पनि सवार थिए भन्ने यकिन हुन नसकेको एसपी सुवेदीले बताए ।