कश्मीरमा आतंकवादी आक्रमण, १ नेपालीसहित कम्तीमा २६ मारिएको दाबी

पहलगाम श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ, जुन पर्यटकका लागि लोकप्रिय गन्तव्यस्थल हो ।


१० वैशाख, काठमाडौं । भारतको जम्मु–कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकमाथि आतंकवादीले गरेको आक्रमणमा कम्तीमा २६ जनाको ज्यान गएको छ । आक्रमणमा परी एक नेपालीको पनि मृत्यु भएको छ, यद्यपि नेपाली नियोग र सरकारले पुष्टि गरेका छैनन् ।

पहलगाम श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ, जुन पर्यटकका लागि लोकप्रिय गन्तव्यस्थल हो । स्वीट्जरल्यान्ड पार्कको नामले चिनिने चौरमा घुमिरहेका पर्यटकमाथि बन्दुकधारीहरूले हमला गरेका थिए । लस्कर–ए–तोयबाका संस्थापक हफिज सइद नेतृत्वको ‘द रेसिस्टेन्स फ्रन्ट’ (टीआरएफ) ले आक्रमणको जिम्मा लिएको भारतीय सञ्चारमाध्यमहरूको दाबी छ ।

सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै मृतकमध्ये १६ जनाको नाम सञ्चारमाध्यमले सार्वजनिक गरेका छन्, त्यसमा एक नेपाली भनेर सन्दीप न्यौपानेको नाम उल्लेख छ तर विस्तृत विवरण छैन । घटनालगत्तै गृहमन्त्री अमित शाह कश्मीर पुगेका छन् ।

घाइतेहरूको अनन्तनागस्थित अस्पतालमा उपचार भइरहेको छ । विपक्षी नेता राहुल गान्धीले यो घटनालाई ‘हृदयविदारक’ भन्दै संघीय सरकारले उत्तरदायित्व लिनुपर्ने माग गरेका छन् । भारत सरकारले पछिल्ला वर्षहरूमा कश्मीरलाई पर्यटन केन्द्रका रूपमा प्रवर्द्धन गर्दै आएको छ ।

सन् २०२४ मा झन्डै ३५ लाख पर्यटकहरूले कश्मीर भ्रमण गरेका थिए । सन् २०१९ मा पुलवामामा भएको आक्रमणमा ४० सुरक्षाकर्मीको मृत्यु भएको थियो । सन् २००० मा भएको आक्रमणमा ३६ भारतीय नागरिकको ज्यान गएको थियो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पर्यटकमाथि गरिएको बर्बर आक्रमणलाई ‘क्रूर घटना’ भएको बताउँदै दोषीलाई कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *