उद्योगीले फेरि बढाए सिमेन्ट र डन्डीको भाउ

अहिले फेरि उद्योगमा १२ घण्टा ‘लोडसेडिङ’ रहेको र उत्पादन गर्न नपाएको भन्दै उनीहरूले बढी मूल्यमा सिमेन्ट र डन्डी बिक्री गरिरहेका छन् ।


१५ वैशाख, काठमाडौं । बजारमा भाउ घटेको ‘हल्ला’ गराएका उद्योगीले उपभोक्ता छक्याउँदै फेरि सिमेन्ट र डन्डीको भाउ बढाएका छन् ।

उद्योगीहरूले १५ चैत २०८१ मा सिमेन्टको भाउ प्रतिबोरा २० रुपैयाँ र डन्डी किलोको ८ देखि १० रुपैयाँ घटाइएको बताएका थिए ।

तर, अहिले फेरि उद्योगमा १२ घण्टा ‘लोडसेडिङ’ रहेको र उत्पादन गर्न नपाएको भन्दै उनीहरूले बढी मूल्यमा सिमेन्ट र डन्डी बिक्री गरिरहेका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघ अध्यक्ष रवि सिंहले उद्योगीले सिमेन्ट र डन्डीको मूल्य मिलेमतोमै बढाएर बेचेको दाबी गरेका छन् ।

उनका अनुसार उद्योगीहरूले सिमेन्ट र डन्डी उत्पादन कटौती गरेर मूल्य बढाएका हुन् । उत्पादन बढाएर लागत घटाउनु पर्नेमा उत्पादन नै घटाएर मूल्य बढाउँदै लगिरहेको उनी बताउँछन् ।

‘२५ सय टन उत्पादन क्षमता भएका डन्डी उद्योगले अहिले ३ सय टन मात्रै उत्पादन गरिरहेका छन्,’ अध्यक्ष सिंहले  भने, ‘उद्योगीले हामीलाई लाइनमा राखेर मूल्य बढाउँदै बेच्दै गर्नुभएको छ ।’

उद्योगीले सिमेन्ट र डन्डीमा ‘कार्टेलिङ’ गरी बजारमा भाउ बढाएको सिंह बताउँछन् । ‘अहिले डन्डीको मूल्य प्रतिकिलो ८८ रुपैयाँबाट ९४ रुपैयाँ पुगेको छ । पहिला ७ सय ५० रुपैयाँ रहेको ओपीसी सिमेन्टको मूल्य बढाएर ७ सय ७१ रुपैयाँसम्म पुर्‍याएका छन्,’ सिंहले भने, ‘अहिले हामीले २–३ दिन लाइनमा उभिएर सिमेन्ट किन्नुपर्ने अवस्था छ ।’

उद्योगीहरूले लोडसेडिङ भएका कारण उत्पादन गर्न नपाएको दाबी गरेका छन् । अध्यक्ष सिंह यदि उद्योगीले लोडसेडिङकै कारण उत्पादन गर्न नसकेको भए उत्पादन क्षमता कति हो र अहिले उत्पादन कति भइरहेको छ भन्ने स्पष्ट तथ्यांक सार्वजनिक गर्न माग गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *