कार र मोटरसाइकल ठोक्किँदा बाबु-छोरीको मृत्यु
दुर्घटनापछि कार चालक प्रहरी नियन्त्रणमा रहेको उनले बताए ।

२१ वैशाख, रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा कारले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
आइतबार बिहान चन्द्रपुर नगरपालिका -४ स्थित लच्कामा हेटौंडाबाट रौतहट आउँदा भएको सवारी दुर्घटनामा गरूडा नगरपालिका-२,गेडही गुठ्ठी निवासी ६० वर्षीय बलिराम सहनी र ४० वर्षीय उनकी छोरी उर्मिला देवीको ज्यान गएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी राजकुमार राईका अनुसार मोटरसाइकल र कार ठोक्किएर दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो । दुर्घटनामा परी सख्त घाइते भएका दुबैजनाको उपचारको क्रममा मृत्यु भएको उनले बताए । बुवा बलिराम सहनी चन्द्रपुरस्थित हाइवे ट्रमा सेन्टर र छोरी उर्मिलाको एलएस न्यूरो हस्पिटल बारामा मृत्यु भएको डीएसपी राईले पुष्टि गरेका छन् ।
उनका अनुसार मृतक सहनीले चलाएको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई बा ६ च ३५२६ नम्बरको कारले ठक्कर दिएको थियो । दुर्घटनापछि कार चालक प्रहरी नियन्त्रणमा रहेको उनले बताए ।
अहिले मुचुल्का उठाउने काम भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।