प्रिसा साहको मृत्युबारे संसद्‍मा गृहमन्त्रीसँग जवाफ माग

भारतको उडीसामा रहेको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत वीरगञ्जकी प्रिसा साह मृत भेटिएकी छन् ।


२१ वैशाख, काठमाडौं । सांसदहरूले भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको सुरक्षामा ख्याल गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।

आइतबार राष्ट्रिय सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसदहरूले बारम्बार एउटै कलेजमा एकै प्रकृतिका घटना हुनुले गम्भीर बनाएको बताएका छन् ।

भारतको उडीसामा रहेको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत वीरगञ्जकी प्रिसा साह मृत भेटिएकी छन् । यसअघि सोही विश्वविद्यालयमा अध्ययनरत प्रकृति लम्साल पनि मृत फेला परेकी थिइन ।

नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकाया साहको मृत्यु प्रकरणपछि सरकारले समयमै चासो देखाएको बुझिएको बताए । केआईआईटी विश्वविद्यालयमा करिब १२ सय नेपाली विद्यार्थी अध्ययनरत रहेको स्मरण गरे ।

चासो देखाएर मात्रै नहुने अवस्था आएको हो कि भन्नेमा ख्याल गर्न उनको आग्रह छ ।

नेकपा माओवादी केन्द्रकी सांसद गंगा कुमारी बेलबासे सरकारले गम्भीर रुपमा चासो लिएर त्यसबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने बताए ।

‘म गृहमन्त्रीसँग जवाफ माग गर्दछु’ उनले भनिन्, ’ उनले भनिन्, ‘किन बारम्बार घटना भइरहेका छन ? यसबारे समिति बनाएर छानबिन गरियोस् ।’

नेकपा एमालेकी सांसद सुमित्रा बिसी भविष्य बनाउँछु भनेर विदश पढ्न गएकाहरूको सुरक्षामा नेपाल सरकारले पनि ख्याल गर्नेपर्ने आग्रह गरिन् ।

नेकपा एकीकृत समाजवादीकी सांसद मदन कुमारी साह केआईआईटी विश्वविद्यालयमा कुनै न कुनै समस्या रहेको बताउँछिन् । सरकारले उक्त विश्वविद्यालयमा एनओसी दिने विषयमा समेत ख्याल गर्नुपर्ने उनको आग्रह छ ।

‘जुन देशमा, जुन विश्वविद्यालयमा, जुन शिक्षण संस्थामा नेपाली विद्यार्थीहरू सुरक्षित छैनन् । सुरक्षाको अनुभुति छैन, प्रत्याभूति छैन त्यस्तो ठाउँमा विद्यार्थी पठाउनु हुन्न । एनओसी दिनुहुन्न भन्ने माग राख्न चाहन्छु ।’ उनले भनिन् ।

अन्याय नेपाल सधैं सहन तयार नरहेको भन्दै उनले एनओसीको विषयमा सरकारले ध्यान दिनुपर्ने उनले बताए । केआईआईटी विश्वविद्यालयमा विद्यार्थी नपठाउन अभिभावकलाई समेत उनको आग्रह छ ।

‘किट विश्वविद्यालयमा आफ्ना छोराछोरी नपढाउनको लागि म यही सभामार्फत नेपाली अभिभावक सबैलाई अनुरोध गर्न चाहन्छु, आह्वान गर्न चाहन्छु’, उनले भनिन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद शेखर कुमार सिंहले पनि केआईआईटी विश्वविद्यालयमा उस्तै घटना चार महिनामै दोहोरिएको भनेर सरकारको ध्यानाकर्षण गरे ।

नेपाल सरकारले समयमै सजग भएर आवश्यक नीति अवलम्बन गर्नुपर्ने उनको आग्रह छ । आइन्दा फेरि अर्को घटना हुन नदिनका लागि लाग्नुपर्ने उनको आग्रह छ । दोषीमाथि कारबाही हुनुपर्ने उनको माग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *