प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल जारी
छलफलमा संक्रमणकालीन न्यायसम्बन्धी प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल र माओवादी केन्द्रका महासचिव वर्षमान पुन समेत सहभागी छन् ।

२१ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी भेटमा संक्रमणकालीन न्याय र समसामयिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
छलफलमा संक्रमणकालीन न्यायसम्बन्धी प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल र माओवादी केन्द्रका महासचिव वर्षमान पुन समेत सहभागी छन् ।
माओवादी अध्यक्ष प्रचण्डसँग छलफल गर्नुअघि आइतबार द्वन्द्वपीडितका विभिन्न संस्थाका प्रतिनिधिले प्रधानमन्त्री ओलीसँग भेट गर्दै ध्यानाकर्षण पत्र बुझाएका थिए ।
सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको पदाधिकारी सिफारिस प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउन उनीहरूले प्रधानमन्त्री ओलीसँग माग गरेका थिए ।
प्रधानमन्त्री ओलीसँगको भेटमा द्वन्द्वपीडित नेतृ देवी खड्कासहित प्रतिनिधिले सिफारिस समितिले आफूहरूसँग परामर्श नगरेको र विश्वासिलो वातावरण नबनेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।