राजस्व चुहावट रोक्ने उद्देश्यले टेरामक्सबारे निर्णय लिएको हुँ– मोहन बस्नेतको बयान
भ्रष्टाचार मुद्दा दायर हुनुअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गएर बयान दिएका उनले कसैको गोपनीयता भंग गर्ने र कल डिटेल हेर्ने उद्देश्यले आफूले त्यो प्रणाली स्थापनाको निर्णय नगरेको जिकिर गरेका हुन् ।
२ जेठ, काठमाडौं । पूर्वमन्त्री एवं सिन्धुपाल्चोकका सांसद मोहन बस्नेतले अर्बौं रुपैयाँको भ्रष्टाचार रोक्न आफूले ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम(टेरामक्स) जडान गर्ने नीतिगत निर्णय गरेको दावी गरेका छन् ।
भ्रष्टाचार मुद्दा दायर हुनुअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गएर बयान दिएका उनले कसैको गोपनीयता भंग गर्ने र कल डिटेल हेर्ने उद्देश्यले आफूले त्यो प्रणाली स्थापनाको निर्णय नगरेको जिकिर गरेका हुन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले गरेको अध्ययन भन्दै उनले २०६८ सालदेखि आठ वर्षको विचमा कल बाइपासबाट मात्रै एनसेलले १२ अर्ब रुपैयाँ कर छलेको विवरण सार्वजनिक भएको जिकिर गरेका छन् ।
उनले बयानमा भनेका छन्, ‘अरबौं राजस्व घोटाला गरिरहेको परिस्थितिमा राज्यले चुप लागेर टुलुटुलु हेरिरहन मिल्दैन, विधि र प्रकृया अनुसार यस्ता आर्थिक अनुशासनहीनतालाई रोक्न मेरो पालामा प्रयासको थालनी भएको हो ।’
नेपाल टेलिकम, एन्सेल जस्ता दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुलाई वित्तीय अनुशासन कायम गराउने उद्देश्यले कल बाइपास नियन्त्रण गर्न र राजस्व चुहावट रोक्न आफूले प्रयास गरेको भन्दै उनले पछि सर्वोच्च अदालतले पनि आफ्नो कामलाई बल पुग्ने र पुष्टि हुनेगरी फैसला गरेको जिकिर गरेका छन् ।
उनले भनेका छन्, ‘यो टेरामक्स सम्बन्धी निर्णय गरेपछि केही विवादहरु सिर्जना गर्न खोज्दा सर्वोच्च अदालतले पनि मैले सहमति दिएको विषयलाई पुष्टि र आवश्यकता बोध गराई बल पुग्नेगरी परमादेश जारी गर्ने फैसला दिएको छ ।’ यद्यपि सर्वोच्च अदालतको फैसला भने टेरामक्स प्रविधिको अन्तरवस्तुसँग नभई केवल ठेक्कापट्टासँग सम्बन्धित छ ।
उनले बयानमा भनेका छन्, ‘मैले सदनियतले भ्रष्टाचारजन्य क्रियाकलापलाई रोक्न र आर्थिक अनियमिततालाई रोक्ने उद्देश्यले आफूले काम गरेको कुरा पनि निवेदन गर्न चाहन्छु ।’