साँगाबाट स्रोत नखुलेको २५ लाख सहित दुई युवक पक्राउ
दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय काभ्रेमा ल्याइएको र नगदको श्रोत खुलाउने विषयमा थप अनुसन्धान भइरहेको डीएसपी घलेले बताए।
काभ्रे : बनेपा नगरपालिका-१४ साँगामा स्रोत नखुलेको २५ लाख रुपैयाँ नगदसहित दुई युवक पक्राउ परेका छन्।
मंगलबार दिउँसो पनौतीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख २४१६ नम्बरको यात्रुबाहक बस रोकेर जाँचको क्रममा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१ का २१ वर्षीय राजन धमालाले बोकेको रातो जेब्रा झोलाबाट स्रोत खुल्न नसकेको २५ लाख रुपैयाँ नगद फेला परेको प्रहरीले जनाएको छ।
नगद बोकेका धमालासँगै यात्रामा रहेका उनका साथी सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ निवासी ३८ वर्षीय सञ्जय कुमार साहालाई समेत प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी मीन बहादुर घलेले बताए।
दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय काभ्रेमा ल्याइएको र नगदको श्रोत खुलाउने विषयमा थप अनुसन्धान भइरहेको डीएसपी घलेले बताए।
पक्राउ गरिएका दुवै जनाबाट प्रारम्भिक सोधपुछमा रकमको स्रोत स्पष्ट जानकारी दिन नसकेको प्रहरीले जनाएको छ।