चितवनमा स्विमिङ पुलमा युवकको मृत्यु, अनुसन्धानका लागि साथीहरू पक्राउ

लामो समयसम्म नफर्किएपछि साथीहरूले खोज्दा स्विमिङ पुलको पानीमा तैरिरहेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

७ जेठ, चितवन । चितवनको इच्छाकामना गाउँपालिका–७ स्थित दाहाखानी भिउ रिसोर्टको स्विमिङ पुलमा एक युवकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२२ का २५ वर्षीय लोकेश महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

महतो आफ्ना १० जना साथीहरूसँग म‌गलबार साँझ ६ बजेतिर रिसोर्टमा गएका थिए । त्यहीँ खाजा खाइसकेपछि उनले स्विमिङ पूलमा नुहाउन गएका थिए ।

लामो समयसम्म नफर्किएपछि साथीहरूले खोज्दा स्विमिङ पुलको पानीमा तैरिरहेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

उनलाई उद्धार गरी राति साढे १२ बजे उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मुग्लिङबाट टोली खटिएको थियो।

प्रहरीले आवश्यक अनुसन्धानका लागि मृतक महतोसँगै गएका साथीहरुलाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनमा राखेर सोधपुछ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे आफन्तलाई जानकारी गराएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

नियन्त्रणमा लिइएका महतोका साथीहरु

१. सुमन थापा (२२), भरतपुर–२२

२. प्रविण घिमिरे (२६), भरतपुर–२२

३. आदेश सुबेदी (२६), भरतपुर–१३

४. आशिष शर्मा (२९), भरतपुर–१४

५. मेघलाल चुंडाल (५७), काठमाडौं-२२  जोरपाटी

६. दिपेश महत्तो (२६), भरतपुर–२२

७. शुबु खत्री (१९), भरतपुर–२२

८. नारायण बस्नेत (२६), सुन्दरबजार–१, लमजुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *