हाल चर्चामा रहेका पात्रहरुमा राजामा हुनुपर्ने गुण र गरिमा छैन– विश्व हिन्दु महासंघ

जनचाहना भएमा गुण गरिमाले युक्त स्वच्छ, निष्पक्ष र लोकप्रिय जोकोही व्यक्ति राजा बन्न सक्ने राष्ट्रिय समितिको धारणा छ ।

१४ जेठ, काठमाडौं । राजावादीहरुले ज्ञानेन्द्र शाह वा उनको नाती हृदयेन्द्रलाई राजा बनाउन सकिने अभिव्यक्ति दिइरहेका बेला विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिले भने हाल चर्चामा रहेका पात्रहरुमा राजामा हुनुपर्ने गुण र गरिमा नभएको जनाएको छ ।

जनचाहना भएमा गुण गरिमाले युक्त स्वच्छ, निष्पक्ष र लोकप्रिय जोकोही व्यक्ति राजा बन्न सक्ने राष्ट्रिय समितिको धारणा छ ।

राप्रपा, राप्रपा नेपालसहितका दलहरुले राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको लक्ष्य अनुसार यही जेठ १५ गते काठमाडौंमा गर्न लागेको प्रदर्शनको सन्दर्भमा विश्व हिन्दु महासंघ नेपालका अध्यक्ष डा. रामचन्द्र अधिकारीले विज्ञप्ति जारी गरी सो धारणा सार्वजनिक गरेका हुन् ।

विज्ञप्तिमा लेखिएको छ, ‘हिन्दु राष्ट्रमा राजा निषेधित हुँदैन, जनचाहना भएमा राजाकयी गुण गरिमाले युक्त स्वच्छ, निष्पक्ष र लोकप्रिय जोकोही व्यक्ति राजा बन्न सक्छ । चर्चामा रहेका पात्रहरुमा राजामा हुनुपर्ने गुण गरिमा पाइँदैन ।’

जेठ १५ गते हुन लागेको प्रदर्शनको विषयमा मंगलबार काठमाडौंमा सम्पादकहरुसँगको छलफलमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय सहमति भए हृदयेन्द्र शाहलाई राजा बनाउन सकिने अभिव्यक्ति दिएका थिए ।

‘यदि ज्ञानेन्द्र शाहलाई वृद्ध भयो भन्नुहुन्छ भने विकल्पमा जान तयार हुनुपर्छ,’ शाहीकालमा मन्त्री समेत बनेका थापाले भनेका थिए, ‘राष्ट्रिय सहमति हुन्छ भने हृदयेन्द्र शाहलाई राजा बनाऔं । उहाँ २०/२१ वर्षको हुनुभयो ।’ हृदयेन्द्र ज्ञानेन्द्रका नाती र पारस शाहका छोरा हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *