तीर्थराज भट्टराईलाई मैले सरुवा गरेर गृहमा ल्याएको होइन : लेखक
मैले दिएको जिम्मेवारीभन्दा अरुले धेरै जिम्मेवारी दिएका व्यक्ति हुन्,’ उनले भने ।
१४ जेठ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख सहसचिव तीर्थराज भट्टराई०७७ सालदेखि गृह मन्त्रालय मातहत रहेको काम गरेको जानकारी गराएका छन् ।
बुधबार पत्रकार सम्मेलन गरेर आफूमाथि उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक भएर काम गरिसकेको मान्छे अध्यागमन विभागको प्रमुख भएर काम गर्न गएको बताए ।
साथै, उनले आफूले पछिल्लोपटक गृह मन्त्रालयमा सरुवा गरेर नल्याएको पनि बताए ।
‘मैले गृहमन्त्रालयमा अन्तबाट सरुवा गरेर ल्याएको होइन । मैले दिएको जिम्मेवारीभन्दा अरुले धेरै जिम्मेवारी दिएका व्यक्ति हुन्,’ उनले भने ।
उनले भट्टराईलाई आफूले अचानक सरुवा गरेर भट्टराईलाई गृह मन्त्रालयमा नल्याएको पनि बताए ।
‘निरन्तर ०७७ सालेदेखि गृहमन्त्रालयमा काम गरिरहनुभएको छ । अत्यन्तै महत्वपूर्ण विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, उहाँ कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक भएर काम गरिरहनुभएको मान्छे कार्यालयको प्रमुख भएर जानुभएको हो,’ गृहमन्त्री लेखकले भने, ‘यो विषयलाई यसरी प्रचार गरिएको छ कि, अचानक त्यो ठाउँमा सरुवा गरेँ भन्ने होइन । मैले कसैका प्रति आग्रह पूर्वाग्रह राखेर निवेदन गरेको छैन । यो विषय यथार्थ हो । यथार्थ विषयलाई यहाँ ल्याएको हुँ ।’
उनले राजनीतिक वा सार्वजनिक पद धारण गरेका व्यक्तिमाथि पनि निरन्तर रुपमा छानबिन हुने गरेको भन्दै यसलाई पनि त्यसैगरी लिन आग्रह गरेका छन् ।