सीआईबीको डीएसपी भन्दै धम्क्याएर रकम असुल्ने युवा समातिए
उनीविरुद्ध यसअघि ठगी तथा आपराधिक विश्वासघातको कसुरमा मुद्दा चलेको थियो ।
१४ जेठ, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान (सीआईबी) को डीएसपी भन्दै रकम असुलेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोट घर भएका ४१ वर्षीय अनिल थापा छन् ।
उनलाई सीआईबीको टोलीले भक्तपुरको कमेरेटारबाट मंगलबार पक्राउ गरेको हो । उनले एक व्यक्तिलाई आफू सीआईबीको डीएसपी भन्दै बलात्कार मुद्दा फसाउन भनेर ८ लाख ४० हजार रुपैयाँ असुलेको पाइएको सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काले बताए ।
ललितपुर जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर उनीमाथि अनुसन्धान अघि बढाइएको छ । उनीविरुद्ध यसअघि ठगी तथा आपराधिक विश्वासघातको कसुरमा मुद्दा चलेको थियो ।