लागुऔषध ओसारपसारमा घरपालुवा कुकुर प्रयोग, ‘रक्की’को घाँटीमा भेटियो ब्राउनसुगर

उनकै साथमा रहेको कुकुरको घाँटीमा बाँधेको बेल्टमा भने लागुऔषध फेला पर्यो ।

१६ जेठ, विराटनगर । कुकुर प्रयोग गरी लागुऔषध ओसारपसार गर्ने गरेको पाइएको छ । बिहीबार उर्लाबारी नगरपालिका– ४ का २४ वर्षीय प्रशान भण्डारी पक्राउ परेपछि कुकुरको प्रयोग खुलेको हो ।

उनी बिहीबार दिउँसो ‘रक्की’ नामको कुकुर लिएर सीमावर्ती बजार जोगवनी पुगेका थिए । उनी विहीबार साँझ करिब ५ बजेतिर जोगवनीबाट कुकुरसहित नै फर्किएका थिए ।

उनीमाथि चेकजाँच गर्दा लागुऔषध फेला परेन । तर उनकै साथमा रहेको कुकुरको घाँटीमा बाँधेको बेल्टमा भने लागुऔषध फेला पर्यो ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार भण्डारीसँग सोधपुछ गर्ने क्रममा घरपालुवा  कुकुरको घाँटीमा बाँधेको ‘बेल्ट’मा लुकाएको अवस्थामा ब्राउन सुगर (खैरो हेरोइन) ३.३६ ग्राम र नाइट्राजेपाम ३५ ट्याब्लेट बरामद भएको हो ।

लागुऔषध बोक्न प्रयोग गरिएको कुकुर भण्डारीको घरमा पालिएको हो ।

भण्डारीलाई कुकुरसहित नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको मोरङ प्रहरी प्रवक्ता जोशीले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *