बजेटमा ईभी करबारे अर्थमन्त्री : ‘निर्णयमा गर्व छ’

बजार हल्ला विपरीत बजेटले ईभीमा कर नचलाएपछि उठेका प्रश्नमा जवाफ दिँदै अर्थमन्त्री पौडेलले भने, ‘बजेटले ईभीका विषयमा गरेको निर्णय ठिक हो भनेर म गर्व गर्छु ।’

१६ जेठ, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय सवारीसाधन (ईभी) मा कर यथावत गर्ने निर्णयप्रति गर्व रहेको बताएका छन् ।

बिहीबार सार्वजनिक भएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे आज शुक्रबार अर्थ मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा उनले ईभी करबारेको निर्णयप्रति आफ्नो धारणा सुनाएका हुन् ।

यसपालि ईभीमा कर बढ्ने हल्ला बजेटभन्दा निकै अघिदेखि चलेको थियो । सोही कारण व्यापारीले ईभी आयात ह्वात्तै बढाएका थिए । ती सवारीसाधन अहिले भन्सारमा थन्केका छन् ।

बजार हल्ला विपरीत बजेटले ईभीमा कर नचलाएपछि उठेका प्रश्नमा जवाफ दिँदै अर्थमन्त्री पौडेलले भने, ‘बजेटले ईभीका विषयमा गरेको निर्णय ठिक हो भनेर म गर्व गर्छु ।’

ईभीको करमा उनले पुराना निर्णय हेर्नसमेत आग्रह गरे । ‘ईभीको विषयमा मैले थप केही भन्नु परेन, यसमा मैले यतिभन्दा हुन्छ कि नेपालमा ईभीका सन्दर्भमा कुन–कुन कार्यकालमा कस्ता–कस्ता निर्णय भए, कुन बजेटले के–के गर्‍यो भन्ने कुराको सूची फ्ल्यासब्याक गर्‍यो भने सबै कुरा थाहा भइहाल्छ,’ अर्थमन्त्री पौडेलले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *