दुर्घटनामा परेकालाई अब निःशुल्क उपचार सेवा

अस्पताल प्रमुख डा. सुभाष चौधरीले आकस्मिक उद्धार सेवा चन्द्रपुर अस्पतालको सामाजिक उत्तरदायित्व अन्तर्गतको एउटा महत्वाकांक्षी कार्यक्रम भएको बताए । 

रौतहट : पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटनामा परेका घाइतेका लागि आकस्मिक उद्धार तथा उपचार सेवा सञ्चालनमा आएको छ । रौतहटको चन्द्रनिगाहपुरस्थित चन्द्रपुर अस्पताल प्रालिले दुर्घटनाको खबर पाउनासाथ उद्धार र उपचार सेवा घटनास्थलमै पुगेर प्रदान गर्ने भएको हो।

दुर्घटनाको सूचना प्राप्त हुनासाथ चिकित्सकसहितको टोलीले दुर्घटनास्थल पुगेर घाइतेको उपचार गर्नेछ । अस्पताल प्रमुख डा. सुभाष चौधरीले आकस्मिक उद्धार सेवा चन्द्रपुर अस्पतालको सामाजिक उत्तरदायित्व अन्तर्गतको एउटा महत्वाकांक्षी कार्यक्रम भएको बताए ।

उद्धार सेवाको मुख्य उद्देश्य सडक दुर्घटना, प्राकृतिक प्रकोप वा अन्य आकस्मिक घटनामा परेका घाइते वा पीडितलाई घटनास्थलमै पुगेर निःशुल्क र निस्वार्थ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउनु रहेको  डा. चौधरीले बताए । अब सडक दुर्घटनामा परेर उपचारको अभावमा घटनास्थलमै मृत्यु हुने संख्या क्रमशःघट्ने भएकाले यसलाई निरन्तरता दिने डा.चौधरीले बताए ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार राईले सडक दुर्घटनाको तथ्याङ्क हेर्दा डरलाग्दो रहेको र चन्द्रपुर अस्पतालले सुरु गर्न लागेको आकस्मिक उद्धार सेवा निकै प्रभावकारी हुने बताए ।

आकस्मिक उद्धार सेवामा दक्ष चिकित्सक र पारामेडिक्स,अत्यावश्यक मेडिकल उपकरण र आपत्कालीन औषधिहरू,पोर्टेबल अक्सिजन आपूर्ति, फलाम तथा काठ काट्ने उपकरणहरू, चेस्ट ट्युब राख्ने तथा माइनर सर्जरीका सामग्रीहरूसहित एम्बुलेन्स २४ सैं घण्टा तयारी अवस्थामा राखिएको डा.चौधरीले बताए ।

अस्पतालले सुरु गरेको यो आकस्मिक उद्धार सेवा मधेस प्रदेशमै सम्भवतः पहिलो भएको भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *