अमेरिकाबाट बोरा बोकेर फर्किए नेपाली
उनीहरुलाई हत्कडी लगाइएको थियो कि थिएन भन्ने खुलेको छैन ।
काठमाडौं । अमेरिकाबाट डिपोर्ट गरिएका नेपालीहरु कोही बोरा बोकेर त कोही रित्तो हात फर्किएका छन् । आइतबार मध्यराति ३७ जना नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदा यस्तो दृश्य देखियो ।
अध्यागमन कानुन उल्लंघन गरेको भन्दै अमेरिकाले डिपोर्ट गरेका ३७ जना नेपालीहरु गएराति काठमाडौं फर्किएका थिए । उनीहरुलाई अमेरिकाले चार्टर्ड विमानमार्फत् काठमाडौं ल्याएर छाडेको हो ।
अमेरिकाले पछिल्लोपटक डिपोर्ट गरेका ३२ पुरुष र ५ महिला गरी ३७ जना नेपाली गएराति फर्किएको वरिष्ठ अध्यागमन अधिकृत एवम् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता अञ्जन न्यौपानेले जानकारी दिए ।
उनीहरुलाई हत्कडी लगाइएको थियो कि थिएन भन्ने खुलेको छैन । प्रवक्ता न्यौपानेले, ‘हाम्रो इमिग्रेसनमा आउँदा सामान्य थिए, विमानमा के थियो थाहा हुने कुरा भएन ।’
गएराति करिब ९ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उनीहरु बाहिरिँदा करिब १२ बजेको थियो ।