रेड पान्डा चोरी प्रयास : ५ लाख भारुमा बेच्ने डिल
चोरी प्रयास गरेको आरोपमा दुई जनालाई पक्राउ गरेर अनुसन्धान गरेको प्रहरीले पाँच लाख भारुमा उक्त रेड पान्डा किन्ने मान्छे समेत खोजी सकेको पत्ता लगाएको छ ।
२६ जेठ, काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेको रेड पान्डा चोरी गर्न खोज्ने व्यक्तिले पाँच लाख भारुमा बेच्ने योजना रहेको खुलेको छ ।
चोरी प्रयास गरेको आरोपमा दुई जनालाई पक्राउ गरेर अनुसन्धान गरेको प्रहरीले पाँच लाख भारुमा उक्त रेड पान्डा किन्ने मान्छे समेत खोजी सकेको पत्ता लगाएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरले रेड पान्डा चोरी प्रयासको आरोपमा धादिङबेशी घर घएका २१ वर्षीय कृष्ण गुरुङ र भारत बिहार राज्य वैशालीका २६ वर्षीय मोहमद तफिकलाई पक्राउ गरेको थियो । १९ जेठदेखि उनीहरू परिसरको हिरासतमा छन् । उनीहरूमाथि अनुसन्धान गर्ने क्रममा रेड पान्डा चोरी गरेर भारतीय नागरिकलाई पाँच लाख भारुमा बेच्ने गरी डिल भएको खुलेको हो ।
परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार चोरी गरेको रेड पान्डा किन्न भन्दै दुई भारतीय समेत काठमाडौंमै आएका थिए । चोरी प्रयास असफल भएपछि उनीहरू भने फरार भएका थिए । रेड पान्डा चोरी प्रयास गर्ने पक्राउ परे पनि किन्न खोज्ने दुई भारतीय भने अहिलेसम्म फरार छन् । उनीहरूको पहिचान भने भइसकेको प्रहरीले दाबी गरेको छ ।