शेरबहादुर देउवाको धनगढी निवास अगाडि बम राखेको आरोपमा युवक पक्राउ
बम राखेको आरोपमा गौरीगंगा नगरपालिकाका दानबहादुर धामीलाई पक्राउ
१५ मंसिर, काठमाडौं । धनगढीस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास अगाडि बम राखेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
देउवाको धनगढी उपमहानगरपालिका–४ बसपार्क नजिकैको घर अगाडि बम राखेको आरोपमा गौरीगंगा नगरपालिकाका दानबहादुर धामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
धामीलाई कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले पक्राउ गरिएको पुष्टि गरे ।
शुक्रबार पदमबहादुर विष्टले जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका नेकपा (बहुमत) का एक नेताले देउवाको निवास अगाडि धामीलाई बम राख्न लगाएको बयान दिएपछि पक्राउ गरिएको हो । देउवाको निवास अगाडि गत भदौमा अज्ञात समूहले विस्फोटक वस्तु राखेको थियो ।
नेपाली सेनाको टोलीले उक्त विस्फोटक वस्तु बम भएको पाइएपछि डिस्पोज गरेको थियो । प्रहरीले यसअघि बम राखेको आरोपमा नेकपा बहुमतका चार जनालाई पक्राउ गरेर समेत अनुन्धान गरेको थियो ।