त्रिदेशीय टी-२०आई शृंखला : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
नेपाल हाल अंक तालिकामा शीर्ष स्थानमा रहेको छ।
६ असार, काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाको अन्तिम खेलमा आज नेपाल र स्कटल्याण्ड खेल्दै छन् । खेल ग्लासग्लोमा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ ।
नेपालले यस श्रृङ्खलामा हालसम्म तीन खेल खेल्दा दुई जित र एक हार बेहोरेको छ। पहिलो खेलमा नेदरल्याण्डसँग तेस्रो सुपर ओभरमा पुगेर हार बेहोरेको नेपालले दोस्रो खेलमा स्कटल्याण्डलाई २ विकेटले पराजित गरेको थियो। तेस्रो खेलमा बिहीबार नेपालले नेदरल्याण्ड्समाथि ६ विकेटले विजयी भएको हो।
यता घरेलु टिम स्कटल्याण्ड भने पहिलो खेलमा नेदरल्याण्ड्समाथि ३९ रनले जिते पनि लगातार हार बेहोरिरहेको छ। दोस्रो खेलमा नेपालसँग २ विकेटले पराजित भएको स्कटल्याण्ड तेस्रो खेलमा नेदरल्याण्ड्ससँग १७ रनले पराजित भएको हो।
नेपाल र स्कटल्याण्डको टी २० हेड टु हेड हेर्दा हालसम्म दुई पटक मात्रै एकअर्काको सामना गरेका छन्। २०१३ मा पहिलो पटक टी २० फर्म्याटमा भेट गरेका थिए। २०१३ मा भने स्कटल्याण्डले नेपालमाथि ८ विकेटको जित हात पारेको थियो।
१२ वर्षपश्चात यी दुई टोलीले पहिलोपटक टी २० अन्तर्राष्ट्रियमा एकअर्काको सामना गरेका थिए जसमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले हराएको थियो। आज दुवै टोली जितको खोजीमा हुनेछन्। नेपाल तेस्रो जितसहित सुखद अन्त्य गर्न चाहन्छ।
आइसिसी क्रिकेट विश्वकप लिग २ को चौथो श्रृङ्खला सकेर यी तीन देशले टिट्वेन्टी अन्तर्राष्ट्रिय श्रृङ्खला खेलेका हुन्। जसमा नेपाल हाल अंक तालिकामा शीर्ष स्थानमा रहेको छ। दोस्रो स्थानमा नेदरल्याण्ड छ भने घरेलु टिम स्कटल्याण्ड पुछारमा छ।