पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पशुपति क्षेत्र विकास कोषको सम्पत्ति हिनामिना तथा हानीनोक्सानी गरेको आरोपमा आयोगले आइतबार उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गराएको हो।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलन कुमार थापासहित १४ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

पशुपति क्षेत्र विकास कोषको सम्पत्ति हिनामिना तथा हानीनोक्सानी गरेको आरोपमा आयोगले आइतबार उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गराएको हो।

आयोगले कोषका सदस्यसचिव डा. मिलनकुमार थापा, तत्कालीन निमित्त सदस्य सचिव राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक घनश्याम खतिवडा, तत्कालीन उपनिर्देशक रेवती रमण अधिकारी, तत्कालीन उपनिर्देशक सिताराम रिसेल, इन्जिनियर पशुपति ठाकुर, डेनिस उप्रेती, रमेश पुरी, लेखा अधिकृत चन्द्रप्रसाद खनाल, पुल्चोक क्याम्पस इलेक्ट्रिकल विभाग प्रमुख युवराज अधिकारी, कानुनी सल्लाहकार तथा मूल्यांकन समिति सदस्य लैनबहादुर थापा, म्याप इन्टरप्राइजेजका सञ्चालक मनोज पुरी र यदुनन्दन भट्टराई र एप्पल इन्जिनियरिङ कन्सल्टेन्सीका प्रबन्ध निर्देशक सुरज चापागाईं रहेका छन्।

सम्बन्धित कार्यको अनुभव तथा संलग्न विज्ञको जानकारी नै नलिई अनुभव नै नभएका परामर्शदातालाई सोझै खरिदमार्फत नियुक्त गरेको, ठेकेदार समेतको मिलेमतोमा फर्की कोटेसन तयार गरी नक्कली विज्ञ खडा गरी अस्वभाविक बढी लागत राखी परामर्शदाताबाट गलत प्रतिवेदन पेस गरिएको, परामर्शदाताबाट विलविजक जारी गर्नुपूर्व नै भुक्तानी स्वीकृत गरिएको उनीहरूविरुद्ध आरोप लगाइएको छ।

त्यस्तै कम गुणस्तरको मेसिन जडान गरी समयमा मर्मत समेत नगरी हाल सञ्चालनमा समेत नरहने अवस्थामा पुर्‍याएको आयोगको ठहर छ। आयोगले उनीहरूविरुद्ध १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ बिगो माग गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *