सशस्त्रको असईमा नाम निकालिदिने भन्दै ठगी, एक जना पक्राउ
काठमाडौं जिल्ला अदालतबाट असार ८ गते क्षेत्रीमाथि पक्राउ पुर्जी जारी भएको थियो ।
काठमाडौं : सशस्त्र प्रहरी बल, नेपालको सहायक निरीक्षक (असई) पदमा नाम निकालिदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले काठमाडौं महानगरपालिका–१५ का ४७ वर्षीय सोम कौशिक क्षेत्रीलाई झण्डै पाँच लाख रूपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरेको हो ।
अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी, एसपी काजी कुमार आचार्यका अनुसार उनले पीडितलाई असई पदमा नाम निकालिदिन्छु भनी विश्वास दिलाई इ–सेवा आईडी र विभिन्न बैंक खातामा कूल ४ लाख ९१ हजार रकम ठगी गरेका थिए।
काठमाडौं जिल्ला अदालतबाट असार ८ गते क्षेत्रीमाथि पक्राउ पुर्जी जारी भएको थियो । त्यसैअनुसार अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार काठमाडौंको नागार्जुन नगरपालिका–७, रामकोटबाट पक्राउ गरेको आचार्यले बताए ।
उनका अनुसार पक्राउ परेका क्षेत्रीलाई ठगीसम्बन्धी कसुरमा थप अनुसन्धान र आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौं पठाइएको छ।