विशेष अदालतमा माधव नेपालको बयान जारी,आजै थुनछेक बहस
पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध १८ करोड ५८ लाख ५० हजार विगो माग गरिएको छ।
११ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको मुद्दा विशेष अदालतको इजलास नम्बर २ मा परेको छ ।
एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालको बयान सुरू भएको छ। विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई,रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा नेपालको बयान जारी छ। बयान सकिएपछि आजै थुनछेक बहस सुरू हुने अदालत स्रोतले जनाएको छ। थुनछेक बहस पछि पुर्पक्षका लागि नेपाललाई कारागार पठाउने कि बाहिरबाटै मुद्दा लड्न पाउने आदेश हुनेछ।
बयानका लागि आफ्ना पक्षका कानुन व्यवसायी लिएर नेपाल बुधबार बिहान ११ बजे विशेष अदालत पुगेका थिए। उनका पक्षमा कानुन व्यवसायी गोविन्द बन्दी,शम्भु थापालगायतले बहस गर्नेछन्।
पतञ्जली जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अध्यक्ष नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध १८ करोड ५८ लाख ५० हजार विगो माग गरिएको छ।