विष्णुमति खोलामा कार खसेपछि चालक हाम फाले, कारसँगै बगेकी महिलाको उद्धार

उद्धार गरिएकी महिला र उद्धारको क्रममा घाइते भएका व्यक्तिहरुको बसुन्धरास्थित ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ ।

१२ असार, काठमाडौं । विष्णुमति खोलाले बगाएको कारमा सवार एक महिलाको उद्धार गरिएको छ। गएराति सवा दश बजेतिर काठमाडौंको टोखा नगरपालिका-६ ग्रान्डी अस्पताल पछाडि विष्णुमति खोलामा कार खसेको र सोही कारमा सवार महिलाको उद्धार गरिएको नेपाल प्रहरीले जनाएको छ।

ग्राण्डी हस्पिटल नजिकबाट खोलाले बगाएको कारभित्र रहेकी दाङ तुलसीपुर घर भई हाल टोखा बस्ने ३४ वर्षीया भावना ओलीलाई बानियाटार पुल नजिकबाट नेपाल प्रहरी र स्थानीयले सकुशल उद्धार गरेका हुन् ।

बाग्मती प्रदेश ०३१ च ६१४१ नम्बरको उक्त ईभी कार गएराति करिब १० बजे खोलामा बसेर बाढीमा बगेको थियो ।

उक्त कार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर–१ घर भई हाल काठमाडौंको धुम्बाराही बस्ने ३५ वर्षीय अंकुश सिंहले चलाएका थिए । उनी तत्काल गाडीबाट खोला किनारामा हाम फालेका थिए ।

तर गाडी भित्र रहेकी ओली गाडीसहित बगिरहेको देखेपछि प्रहरीले पछ्याएको थियो । सो कार बग्दै बानियाटार पुलमा आएर अड्किएपछि ३ प्रहरी र २ स्थानीय गरी जम्मा पाँच जनाले उद्धार गरेका काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए ।

उद्धार गरिएकी महिला र उद्धारको क्रममा घाइते भएका व्यक्तिहरुको बसुन्धरास्थित ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य छ ।

उद्धार कार्यमा प्रहरी हबल्दार उमेश कुमार लोहनी, प्रहरी सहायक हबल्दार समिर विक, प्रहरी जवान सुमन थापा, लम्जुङ घर भई टोखा बस्ने १९ वर्षीय अर्जुन गुरुङ र २९ वर्षीय राजु तामाङ संलग्न थिए । अर्जुनको खुट्टामा र राजुको हातमा सामान्य चोट लागेको छ ।

उद्धार कार्यमा प्रहरी नायव उपरीक्षक निरन्जन थापाको कमाण्डमा २० जना र विपद व्यवस्थापन प्रहरी कार्यालयबाट २५ जनाको टोली पनि परिचालित भएको थियो ।

खोलामा बगेको कारलाई राति पौने १२ बजेतिर क्रेनको सहायताले बाहिर निकालिएको थियो । सो कारलाई प्रहरी प्रभाग नयाँ बसपार्कमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *