धनगढीका झन्डै एक हजार घर डुबानमा, ८ जनाको उद्धार

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार लगातारको वर्षाका कारण धनगढी उपमहानगरपालिका क्षेत्रका झन्डै एक हजार घरमा पानी पसेको छ ।

१६ असार, धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा अविरल वर्षापछि घर डुबानमा परेर फसेका आठ जनालाई प्रहरीले उद्धार गरेको छ ।

धनगढी उपमहानगरपालिका –७ को बेली गाउँका चार जना र धनगढी–१३ को श्रीलंकाका चार जना गरी आठ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले बेलीका सिताराम रानाको एक तले कच्ची घर डुबानमा परेपछि उनीसहित परिवारका चार जनालाई उद्धार गरेर नजिकै रहेका आफन्तको घरमा सारिएको जानकारी दिए ।

उनका अनुसार धनगढी–१३ श्रीलंकाका भागीराम चौधरीका परिवारका चार जनाको उद्धार गरेर स्थानीय नवज्योति आधारभूत विद्यालयमा राखिएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार लगातारको वर्षाका कारण धनगढी उपमहानगरपालिका क्षेत्रका झन्डै एक हजार घरमा पानी पसेको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले धनगढी उपमहानगरपालिका–१, २, ३,४,५,७,८ र १० नम्बर वडा वर्षाका कारण प्रभावित भएको बताए ।

करिब एक हजार घरधुरीमा पानी पसेपनि अहिलेसम्म क्षति नभएको जोशीले बताए ।

आइतबार साँझदेखि निरन्तर वर्षा भइरहेको छ । अहिले जस्तै वर्षा साँझसम्म भएमा धेरै मानिस प्रभावित हुनसक्ने बताउँदै सोही अनुसार तयारी भइरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *