संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारे फैसला आज
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको बेला संसदीय सुनुवाइ विना ५२ संवैधानिक निकायहरुमा पदाधिकारीहरु नियुक्त गरेका थिए ।
१८ असार, काठमाडौं । सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्धको निर्णय आज सुनाउने तयारी गरेको छ । यसअघि जेठ २८ गते नै निर्णय सुनाउने भनिएकोमा असार १८ गतेलाई सारिएको थियो ।
स्रोतका अनुसार आज निर्णय सुनाउन मंगलबार पनि संवैधानिक इजलासका ५ न्यायाधीशमध्ये बालुवाटारस्थित प्रधानन्यायाधीशको सरकारी निवासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह, वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नहकुल सुवेदीले बहस नोट अध्ययन गरेका थिए। संवैधानिक इजलासमा प्रधानन्यायाधीश राउत, न्यायाधीशहरू मल्ल, सुवेदी, मनोजकुमार शर्मा, कुमार चुडाल छन्। न्यायाधीशहरू गहन छलफलमा गरेपछि सामान्यतया निर्णय सुनाइने कानुनी अभ्यास छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको बेला संसदीय सुनुवाइ विना ५२ संवैधानिक निकायहरुमा पदाधिकारीहरु नियुक्त गरेका थिए ।
त्यसलाई बदर गर्न माग राखी सर्वोच्च अदालतमा १५ वटा रिट निवेदन परेका थिए । त्यसमा गत माघदेखि नियमित सुनुवाइ थालेको सर्वोच्च अदालतले निर्णय सुनाउने मिति आजलाई तोकेको हो ।
संवैधानिक इजलासका प्रधानन्यायाधीश र न्यायाधीशहरु असार १७ गते पनि निर्णय सुनाउने तयारीमा व्यस्त थिए । कुनै प्राविधिक समस्या नआए आज सर्वोच्चले निर्णय सुनाउने स्रोतले बतायो ।