श्रीलंकामाथि नेपालको फराकिलो जित
उनले खेलको २०औं, ४२औं र पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन्।
१८ असार, काठमाडौं । कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले लगातार दोस्रो खेलमा ह्याट्रिक गोल गरेपछि नेपालले एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको दोस्रो खेलमा नेपालले श्रीलंकाविरुद्ध फराकिलो जित निकालेको छ ।
एएफसी एसियन कप छनोटअन्तर्गतको दोस्रो खेलमा नेपालले श्रीलंकालाई ८-० गोलले हराएको छ। तास्केन्तस्थित बुनयोदकोर स्टेडियममा भएको खेलको पहिलो हाफमा नेपालले ४ गोल गरेको थियो। दोस्रो हाफमा नेपालले ४ गोल थप्यो।
उनले खेलको २०औं, ४२औं र पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन्।
डिफेण्डर गीताले सातौं मिनेटमै गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । त्यसपछि सावित्राले २०औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारिन् । सावित्राले ४२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् भने पहिलो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।
दोस्रो हाफको ५४औं मिनेटमा गिताले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गरिन् भने ६२औं मिनेटमा निशाले हेडर गोल गरेपछि नेपाल ६-० ले अघि बढ्यो ।
७८औं मिनेटमा रेखा पौडेलले हेडर गोल गरिन् भने ८९औं मिनेटमा पुजा रानाले बक्समा डिफेन्डरले क्लियर नगरेको बललाई पोस्टको दिशा दिइन् । श्रीलंकाले भने खेलभर एउटा फितलो प्रहार बाहेक कुनैपनि मौका बनाउन सकेन ।
नेपालले पहिलो खेलमा लाओसमाथि ९-० को फराकिलो जित निकालेको थियो । अब नेपालले अन्तिम अनि महत्वपूर्ण खेलमा उज्बेकिस्तानसँग खेल्ने छ ।
लगातार दुई जितपछि नेपाल ६ अंक जोडेर समूह एफको शीर्ष स्थानमा उक्लेको छ । लगातार दुई खेलमा पराजित भएको श्रीलंका एक खेल अगावै बाहिरिने पक्का भएको छ ।
आजै घरेलु टोली उज्वेकिस्तानले लाओससँग खेल्दैछ । यदी उज्वेकिस्तानले लाओसलाई हराएमा एसियन कप पुग्नका लागि नेपाल र उज्वेकिस्तानबीचको अन्तिम खेल निर्णायक हुनेछ । आज हुने अर्को खेलको नतिजापछि अन्तिम खेलमा नेपाललाई कस्तो नतिजा चाहिने भन्ने टुङ्गो लाग्नेछ ।
समूहको शीर्षमा रहने टिम सन् २०२६ मा हुने एएफसी महिला एसियन कप फुटबलका लागि छनोट हुनेछ भने त्यसले अन्य मुख्य प्रतियोगिताहरूका लागि पनि ढोका खुल्ने छ ।