बालेनलाई निवासमै बोलाएर विद्याले राखिन् बजेटबारे चासो

भेटवार्ताका क्रममा पूर्वराष्ट्रपति भण्डारीले काठमाडौं महानगरपालिकाको पछिल्लोपटक भइरहेको विवादबारे चासो राखेकी थिइन् ।

२२ असार, काठमाडौं । राजनीतिमा सक्रिय भएको घोषणासँगै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक भेटवार्ता पनि बढाएकी छिन् ।

यसैबीच भण्डारीले गत बिहीबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग भेटवार्ता गरेकी छिन् ।

मेयर बालेननिकट स्रोतले अनलाइनखबरलाई बताए अनुसार, गत बिहीबार मेयर बालेनले भण्डारीको निजी निवास भंगालमै पुगेर भेट गरेका हुन् ।

एमालेकै एक नेताले मेयर बालेनलाई भण्डारीसँग भेटघाटको तारतम्य मिलाएका थिए ।

भेटवार्ताका क्रममा पूर्वराष्ट्रपति भण्डारीले काठमाडौं महानगरपालिकाको पछिल्लोपटक भइरहेको विवादबारे चासो राखेकी थिइन् ।

उनले आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम ल्याउन नसक्नुको कारणबारे पनि बालेनसँग सोधखोज गरेकी थिइन् ।

‘उहाँले खासगरी बजेटसँग सम्बन्धित रहेर केही कुराकानी गर्नुभयो,’ बालेन निकट ती सदस्यले भने, ‘बजेट ल्याउन भइरहेको असहजताबारे मेयर साबले पनि आफ्ना कुरा राख्नुभयो ।’

विशेषगरी प्रमुख प्रशासकीय अधिकृत र कार्यपालिका सदस्यसँग विविध विषयमा एकमत हुन नसक्दा कार्यपालिका बैठक बस्न सकेको छैन ।

बैठक बस्न नसकेपछि अहिलेसम्म महानगरले बजेट ल्याउन पनि सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *