त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
अचानक बाढीले नदीको सतह बढेपछि उनीहरु फसेका हुन्। बिचमा परेपछि केहि समय रुख चढेर बसेका थिए।
२४ असार, काठमाडौं । नुवाकोटस्थित त्रिशूली नदीमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
नुवाकोटको त्रिशूली बजार नजिक रहेको स्थानमा सोमबार राति जोखिममा परेपछि रुखमा चढेर बसेका दुई जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले बताए ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विदुर नपा -१ लभडाँडा मिलन चौतारा बस्ने ६७ वर्षीय पाल्देन तामाङ र उनकी श्रीमती ६२ वर्षीया मंगली तामाङको सकुशल उद्धार भएको हो। उनीहरु एकाबिहानै नदीमा दाउरा संकलन गर्न पुगेका थिए। तर, अचानक बाढीले नदीको सतह बढेपछि उनीहरु फसेका हुन्। बिचमा परेपछि केहि समय रुख चढेर बसेका थिए।
चीनतर्फ अबिरल वर्षाको कारण भोटेकोशी नदीमा बाढी आएको हो। बाढीले रसुवागढीस्थित नेपाल-चीन जोड्ने मितेरी पुलमा क्षति पुगेको छ।