२४ असार, काठमाडौं । चीनतर्फबाट आएको बाढीले रसुवामा ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलका लागि गृहमन्त्री रमेश लेखकलाई बालुवाटार बोलाएका छन् ।
गृह मन्त्रालय स्रोतका अनुसार, बाढीको क्षति, राहत तथा उद्धारबारे छलफल गर्न प्रधानमन्त्री ओलीले उनलाई बोलाएका हुन् ।
रसुवामा आएको बाढीले पुर्याएको क्षतिबारे छलफल गर्न केन्द्रीय सुरक्षा समिति र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको आकस्मिक बैठक बोलाइएको छ । बैठक दिउँसो १ बजे गृह मन्त्रालयमा बस्ने छ ।
सोमबार राति आएको बाढीका कारणले १८ जना वेपत्ता भएका छन् । नेपाल विद्युत् प्राधिकरण र यस अन्तर्गतका परियोजनाको २ सय मेगावाट विद्युत उत्पादन बन्द भएको छ ।
बाढीले रसुवागढी भन्सारमा राखिएका सय भन्दा बढी गाडी बगेको प्रारम्भिक अनुमान गरिएको छ ।