श्रीमान अर्कै युवतीको कोठामा गएको चाल पाएपछि साथी भेला गराइ कुटपिट
घाइते राईलाई शंकर अस्पताल शनिश्चरेमा सामान्य उपचारपश्चात् थप उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाइएको थियो ।
झापा : झापामा सामूहिक कुटपिटबाट एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका- ४ भाङवारी घर भई हाल वडा नम्बर ८ शनिश्चरे क्याम्पस नजिक बस्ने २२ वर्षीया गंगा राई रहेकी छन् । आफ्ना श्रीमान् गंगाको कोठामा गएको झोकमा सुस्मिता भुसालले साथी भेला गराई सामूहिक कुटपिट गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलबार राति ११:३० बजे भोजपुर रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठे घर भई अर्जुनधारा–८ बस्ने विश्व चौधरीको घरमा डेरा गरी बस्ने ३२ वर्षीया सुस्मिताले सोही ठाउँका ५४ वर्षीया मैया श्रेष्ठ,३८ वर्षीया बबिता विक,२४ वर्षीया मेनुका पाँचकोटे र ६० वर्षीया नर्बदा सुनदासलाई बोलाएर गंगामाथि कुटपिट गराएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घाइते राईलाई शंकर अस्पताल शनिश्चरेमा सामान्य उपचारपश्चात् थप उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाइएको थियो । उनको उपचारको क्रममा सोही अस्पतालमा आज बिहान १:२० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
प्रहरीले कुटपिट घटनामा संलग्न ५ जना महिला र सुस्मिताका श्रीमान् रमेश भुसाल समेतलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाइएको छ ।