गुजरातको महिसागर नदीमाथिको पुल भाँचियो, सवारी साधनहरू खसेको आशंका
घटनास्थलका तस्बिरहरूमा पुलको भाँचिएको रेलिङमा एउटा ट्रक अड्किएको देखिन्छ भने केही अन्य सवारी साधनहरू नदीमा खसेको देख्न सकिन्छ।
गुजरातको आनन्द जिल्लास्थित महिसागर नदीमाथिको पुल भत्किएको छ। बीबीसीका अनुसार पुल भत्किँदा धेरै सवारी साधन नदीमा खसेका छन्। घटनाको खबर पाउने वित्तिकै स्थानीय प्रशासनले राहत र उद्धार कार्य सुरु गरेको छ। अहिलेसम्म तीनजनालाई सकुशल उद्धार गरिएको छ। तर, कुनै हताहत भएको आधिकारिक पुष्टि भएको छैन।
घटनास्थलका तस्बिरहरूमा पुलको भाँचिएको रेलिङमा एउटा ट्रक अड्किएको देखिन्छ भने केही अन्य सवारी साधनहरू नदीमा खसेको देख्न सकिन्छ। त्यहाँ उपलब्ध भिडियो फुटेजमा स्वास्थ्यकर्मीहरूले नदीबाट पीडितहरूलाई निकालेर एम्बुलेन्समा लैजाँदै गरेको देखिन्छ। पुलमा प्रहरी बलको उपस्थिति पनि देखिएको छ।
यो पुल आनन्द जिल्लाको गम्भीरालाई बडोदराको पाड्रा र भरुचसँग जोड्ने सडकमा अवस्थित थियो। प्रहरीले घटनाबारे अनुसन्धान सुरू गरिएको छ। यो पुलले मध्य गुजरातलाई सौराष्ट्रसँग जोड्छ र बडोदरालाई आनन्दसँग जोड्ने मार्गमा अवस्थित छ।
सडक तथा भवन विभागका सचिव पीआर पटेलियाले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन्।