मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा
सार्वजनिक अडियो रेकर्ड अनुसार, गत पुस/माघमा काम गरिदिने भनेर मन्त्री गुप्ताले केही रकम समेत बुझिसकेका थिए ।
३१ असार, काठमाडौं । घुस ‘डिल’ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन्।
मन्त्री गुप्ता स्वयंले आज बिहान पदबाट राजीनामा दिएको जानकारी दिएका हुन्।
कास्कीका तत्कालीन मालपोत कार्यालय प्रमुखको सरुवा थमौती र भूमि आयोग जिल्ला अध्यक्ष बनाइदिने भनी ७८ लाखको घुस मागेको अडिओ सार्वजनिक भएपछि मन्त्री गुप्ता विवादमा परेका थिए। एमालेबाट मन्त्री बनेका उनले राजीनामा दिनुपर्ने माग पार्टीभित्रै भइरहेको थियो।
सार्वजनिक अडियो रेकर्ड अनुसार, गत पुस/माघमा काम गरिदिने भनेर मन्त्री गुप्ताले केही रकम समेत बुझिसकेका थिए ।
अडियो रेकर्डमा मूलत: कास्कीको भूमि आयोगको अध्यक्ष नियुक्तीबारे छलफल भए पनि पोखराको जग्गाको कुराकानीको प्रसंग समेत छ ।
मन्त्री गुप्ताले विभिन्न क्षेत्रका आकर्षक मालपोत कार्यालयहरूमा फोन गरेर ‘सहयोग माग्ने’ र भनेजस्तो नभएमा अन्तर मन्त्रालय सरुवा गरिदिन्छु भनेर धम्क्याउने गरेको समेत आरोप छ ।