भिजिट भिसामार्फत स्पेन गएर नफर्केकामाथि अनुसन्धान सुरु भइसक्यो : सरकारका गुरुङ

गुरुङले नागढंगा सुरुङ्गमार्ग निर्माण आयोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ५ अर्ब ७० करोड बराबरको थप सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए। 

काठमाडौं : सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले भिजिट भिसामार्फत स्पेन गएर नफर्केकामाथि सरकारले अनुसन्धान सुरु गरिसकेको बताएका छन्। बुधबार असार ३० गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन्।

गुरुङले भ्रष्टाचार गरेको पुष्टि भए जोकोहीमाथि कारबाही हुने बताए। उनले भ्रष्टाचारी मन्त्री होस् वा अन्य कुनै पदमा व्यक्ति, जो भएपनि कारबाही हुने स्पष्ट पारे।

गुरुङले नैतिकताको कुरा उठिसकेपछि सामान्य प्रशासनमन्त्रीले राजीनामा दिइसकेको अवस्थामा तथ्य र सत्यमा आधारित भएर सरकार अघि बढ्ने बताए। उनले भ्रष्टाचारका विषयमा सरकारले आँखा चिम्लिएर नबस्ने धारणा राखे।

गुरुङले नागढंगा सुरुङ्गमार्ग निर्माण आयोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ५ अर्ब ७० करोड बराबरको थप सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए।

बैठकले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको रिक्त अध्यक्ष पदमा डा. खगराज शर्मालाई नियुक्त गरेको छ भने फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको कार्यविधि चार महिनाका लागि थप गर्ने निर्णय समेत भएको प्रवक्ता गुरुङले जानकारी दिए।

मन्त्रीपरिषद्ले नेपाली सेनातर्फ एक जना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गर्ने, एक जना महासेनानीलाई सहायक रथीमा बढुवा गर्ने र १९ जना सहायक सेनानीहरूको सरुवा गर्ने निर्णय समेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *