डिंगरनगर दूरगामी सहकारीका अध्यक्ष र सचिवविरुद्ध पक्राउ पुर्जी जारी

करोडौं बचत अपचलनको तथ्य बाहिरिएपछि तीनसय बढी वचतकर्ताहरुले प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालय र इलाका प्रहरी कार्यालय बुटवलमा सञ्चालकहरुविरुद्ध निवेदन दिएका थिए ।

२ साउन, बुटवल । कम्तीमा १५ करोड बचत अपचलन भएको रुपन्देहीको तिलोत्तमाको डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

स्रोतका अनुसार संस्थाका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापा लगायतविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

करोडौं बचत अपचलनको तथ्य बाहिरिएपछि तीनसय बढी वचतकर्ताहरुले प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालय र इलाका प्रहरी कार्यालय बुटवलमा सञ्चालकहरुविरुद्ध निवेदन दिएका थिए ।

उनीहरुले ठगी गर्नेहरुलाई मुलुकी अपराध संहिता, २०७४ परिच्छेद २१ को दफा २४९ बमोजिम कारवाहीको माग गरेका छन् ।

गृह मन्त्रालय नेपाली कांग्रेसको नेतृत्वमा रहेको र सहकारीका पदाधिकारी पनि कांग्रेस नेताहरु भएकाले पक्राउ नगरेको आरोप लगाउँदै बचतकर्ताहरुले पक्राउ गर्न दबाब दिन दुई हप्तादेखि दिनहुँ पदाधिकारीहरुको घर घेराउ गरिरहेका छन् ।

बचतकर्ताको दबाबपछि प्रहरीले असार २७ गते सहकारीका व्यवस्थापक वसन्त पराजुलीलाई पक्राउ गरी अनुसन्धान जारी राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *