प्राधिकरणका कार्यकारी निर्देशक शाक्य विद्युत आपूर्ति समस्या बुझ्न चितवनमा

विद्युत प्राधिकरणको चनौली सबस्टेशनले लाइन कटौती गरेको सूचना जारी गरेपछि चितवनमा लोडसेडिङ गरेको भन्दै आलोचना भएपछि शाक्य आफैं चितवन आएका हुन् ।

१२ साउन, चितवन । चितवनका विभिन्न स्थानमा विद्युत आपूर्तिमा देखिएको समस्याबारेमा जानकारी लिन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य चितवन आएका छन् । शाक्य आज बिहान भरतपुर आएका हुन् ।

विद्युत प्राधिकरणको चनौली सबस्टेशनले लाइन कटौती गरेको सूचना जारी गरेपछि चितवनमा लोडसेडिङ गरेको भन्दै आलोचना भएपछि शाक्य आफैं चितवन आएका हुन् ।

शाक्यको सचिवालयका इन्जिनियर नारायण अर्यालका अनुसार शाक्य भरतपुरको अवस्थाका बारेमा सामान्य जानकारी लिएपछि पूर्वी चितवनको राप्तीमा रहेको हर्दी सबस्टेशनमा पुग्ने छन् ।

हर्दीमा आइतबार राति २४ एमभीएको ट्रान्सफर्मर जडान गरी सफलतापूर्वक परीक्षणको काम भइसकेको छ । हर्दी  स्टेशनका इन्चार्ज रोशन खनियाँले ट्रान्सफर्मरको काम सकेर चार्ज गर्ने काम सुरु गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *