आक्रामक बन्दै शिक्षक आन्दोलन, कक्षा १२ को परीक्षा बहिष्कार गर्ने

महासंघका महासचिव तुलाबहादुर थापाले माग पूरा नगरेसम्म कक्षा १२ को परीक्षामा कुनै शिक्षक कर्मचारी सहभागी नहुने निर्णय गरेको जनाए।


२ वैशाख, काठमाडौं । आन्दोलनरत शिक्षकहरूले कक्षा १२ को परीक्षालाई बहिष्कार गर्ने भएका छन्। उनिहरुले नयाँ भर्ना रोक्ने भएका छन्।

नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौंको बिजुलीबजारमा १३ दिनदेखि सडक आन्दोलनमा उत्रेका शिक्षकहरूले सरकारले मागको सुनुवाइ नगरेसम्म कक्षा १२ को परीक्षालाई बहिष्कार गर्ने निर्णय गरेका छन्। पूर्वघोषणाअनुसार वैशाख महिनाको ११ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुँदैछ। यता विद्यालयहरूको नयाँ शैक्षिक सत्र पनि सुरु भएको छ।

महासंघका महासचिव तुलाबहादुर थापाले माग पूरा नगरेसम्म कक्षा १२ को परीक्षामा कुनै शिक्षक कर्मचारी सहभागी नहुने निर्णय गरेको जनाए। यसरी महासंघले परीक्षा बहिष्कार गरेको र नयाँ भर्ना लिन रोक्ने निर्णय गरेको उनले बताए।

महासचिव थापाका अनुसार सीटीईभीटीले सञ्चालन गरिरहेको परीक्षा पनि रोक्न आह्वान गरिनेछ। उनले सीटीईभीटीले परीक्षा सञ्चालन गरिरहेको भन्ने सुनिएकाले यसबारे विज्ञप्ति निकालेर रोक्न लगाउने बताए। थापा भन्छन्, ‘केही संस्थागत, सामुदायिक विद्यालयहरू पनि खुलेको भन्ने सुनिएकाले सबैलाई बन्द गर्न सोमबार बसेको बैठकले विज्ञप्ति निकालेर आह्वान गर्ने निर्णय गरेको छ। यसअघि पनि निर्णय भएको थियो।’

विद्यालय नै बन्द गर्ने निर्णयले विद्यार्थीको भविष्यसँग खेलबाड हुँदैन र थापाले भने, ‘यसबारे राज्यले जान्नुपर्‍यो नि। हामीले विद्यार्थीको भविष्यमा खेलवाड गर्न खोजेका होइनौं।’ तर, विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघको नेतृत्वमा २० चैतदेखि शिक्षकहरू आन्दोलनमा छन्। देशभरका शिक्षक, कर्मचारी काठमाडौं आएका छन्। यसले गर्दा विद्यार्थीको पढाइदेखि परीक्षा प्रभावित हुने देखिएको छ। अहिलेसम्म शिक्षकहरूको मागलाई सरकारले सम्बोधन गरेको छैन।

यता शिक्षकहरूको आन्दोलन अझ सशक्त हुँदै गएको छ। शिक्षक महासंघले शैक्षिक हडतालसमेत घोषणा गरेको छ। आफूहरूसँग भएका सहमतिका आधारमा यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै महासंघले वैशाख १ गते नयाँ वर्षमा पनि पनि आन्दोलनलाई निरन्तरता दिएको छ। नयाँ वर्ष २०८२ को पहिलो दिन शिक्षकहरू सडकमा छन्। उनीहरूले सडकमा नै नयाँ वर्ष शुभकामना आदानप्रदान गरेका छन्। उनीहरूको आन्दोलन शान्तिपूर्ण छ। गीत गाउँदै, नाच्दै उनीहरूले आन्दोलन गरिरहेका छन्।

शिक्षक महासंघले संसद्को बर्खे अधिवेशन तत्कालै सुरु गर्ने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेश जारी गर्नेमध्ये एउटा विकल्पमार्फत विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने अडान राखेको छ। आफ्ना नयाँ कुनै माग नरहेकाले विद्यालय शिक्षा ऐन जारी नभएसम्म कक्षा कोठामा नफर्कने भन्दै उनीहरूले शैक्षिक हडतालसमेत गरेका छन्। जसका कारण वैशाख २ गतेबाट सुरु हुने नयाँ शैक्षिक सत्रसमेत प्रभावित हुने देखिएको छ। शिक्षकहरूको लगातारको आन्दोलनका कारण माइतीघर–बबरमहल–नयाँबानेश्वर क्षेत्रमा यातायात आवागमनसमेत प्रभावित हुँदै आएको छ।

यसअघि सरकारले गरेको सम्झौता कार्यान्वयन नगरेकाले शिक्षकहरू अहिले झन् आक्रामक बन्दै गएका छन्। यसअघि २०८० असोज ३ गते आन्दोलन भएको थियो। करिब एक सातासम्म भएको आन्दोलनमा सरकारले संघीय शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता गरे पनि अझै ऐन ल्याउने चासो नै देखाएन। त्यतिबेला २ पटक गरेर ६ बुँदे सहमति भएको थियो। त्यतिबेला पेन्सन बञ्चितहरूको मात्रै सम्बोधन हुने पक्का भएको छ। बाँकी मागको सुनुवाइ भएन। यसैले फेरि आन्दोलनमा उत्रिएका हुन्।

दोस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत महासंघले विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिने भन्दै प्रमुख राजनीतिक दलका पार्टी कार्यालयमा धर्ना दिएको थियो। तर, सदनको हिउँदे अधिवेशनबाट पनि विद्यालय शिक्षा विधेयक अघि बढ्न नसकेपछि महासंघले अनिश्चितकालीन काठमाडौंं केन्द्रित सडक आन्दोलन सुरु गरेको हो। महासंघले आफ्ना मागहरू पूरा नभए शिक्षकहरू विद्यालय नफर्कने चेतावनीसमेत दिएका छन्। यसअघि भएको सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक पारित गर्नुपर्ने महासंघको माग छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *