माओवादी केन्द्रको निर्णय : समाजवादी मोर्चाबाहेकसँग चुनावी तालमेल नगर्ने


२६  कात्तिक, काठमाडौं ।आज बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा नेकपा माओवादी केन्द्रले स्थानीय तह उपनिर्वाचनमा सत्ता साझेदार बाहेकका दलसँग सहकार्यको ढोका खुला राख्ने भन्ने जानकारी दिइएको छ । माओवादी केन्द्रले समाजवादी मोर्चासँग उपनिर्वाचनमा सहकार्यको ढोका खुला राखेको हो ।
आज बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा स्थानीय तह उपनिर्वाचनबारे छलफल भएको थियो । सो बैठकपछि माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले भनिन्, ‘समाजवादी मोर्चासँग सहकार्यको ढोका खुला राख्ने भन्ने छ ।’
समाजवादी मोर्चामा माओवादी केन्द्रसहित एकीकृत समाजवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा छन् । २०८० असार ४ गते मोर्चा घोषणाका बेला उपेन्द्र यादव नेतृत्वको जसपा नेपालसमेत सामेल भए पनि हाल उनले मोर्चाबाट अलग भएको घोषणा गरेका छन्। हाल यो मोर्चा निष्कृयसमेत छ ।
स्थानीय तह उपनिर्वाचनअघि मोर्चाका नेताहरुबीच छलफलसमेत चलाउने तयारी माओवादी केन्द्रको छ । तर सत्ता साझेदार दलसँग भने उपनिर्वाचनको सन्दर्भमा छलफल र सहकार्य नगर्ने माओवादीले जनाएको छ ।
माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले भने, ‘कांग्रेस,एमालेसँग सहकार्य हुँदैन । अरुसँग भने छलफलका लागि ढोका खुला रहने भन्ने बताइएको छ ।’
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीको माहोल देशभर राम्रो हुँदै आएको सुनाउँदै चुनाव जित्ने सम्भावना रहेको संश्लेषण गरेका थिए । त्यसैले माओवादी केन्द्रको पक्षमा नतिजा निकाल्ने गरी अझै मिहिनेत गर्न उनले नेताहरुलाई निर्देशनसमेत दिएका थिए ।
उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले स्थानीय तह उपनिर्वाचनमा माओवादी केन्द्रले जित्ने गरी तयारी गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार उपनिर्वाचनमा सफलता हासिल गर्ने गरी कार्ययोजना पनि बनाइएको छ ।
प्रवक्ता सापकोटाले जनपरिचालन गर्दै मंसिर मसान्तसम्म पालिका सम्मेलन र खबरदारी सभा एकैसाथ गर्ने र आगामी पुस २ गते केन्द्रीय समितिको बैठक बस्ने निर्णय समेत भएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *