कांग्रेसको किचलोले बागमतीमा फुकेन मन्त्री नियुक्तिको गाँठो
२० साउनमै निवर्तमान मुख्यमन्त्री लामाले मन्त्री नियुक्त गरेर पनि सपथ लिन नपाएका ३ जना सांसदलाई बानियाँले मन्त्री नबनाएको भन्दै लामा पक्ष असन्तुष्ट छ ।
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्र मन्त्री नियुक्तिको विषयमा जारी किचलो अझै टुंगिएको छैन ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा पक्षको मन्त्री नियुक्तिमा देखिएको अन्तरसंघर्षको गाँठो फुक्न नसक्दा सरकारले पूर्णता पाएको छैन ।
२० साउनमा मुख्यमन्त्री नियुक्त बानियाँले सोही दिन नेकपा एमालेका ६ जना र कांग्रेसका दुई जनालाई मन्त्री नियुक्त गरेका थिए । कांग्रेस–एमालेबीच भएको मन्त्रालय भागबण्डाअनुसार कांग्रेसबाट अझै पाँच मन्त्री नियुक्त हुन बाँकी छ ।
२० साउनमै निवर्तमान मुख्यमन्त्री लामाले मन्त्री नियुक्त गरेर पनि सपथ लिन नपाएका ३ जना सांसदलाई बानियाँले मन्त्री नबनाएको भन्दै लामा पक्ष असन्तुष्ट छ । धादिङका गोविन्द लम्साल, चितवनका माया श्रेष्ठ र गीता गुरुङलाई बानियाँले पहिलो चरणमै मन्त्री बनाउनुपर्ने सहमति कांग्रेस सभापति शेरबहादुर देउवासमेतको बसाइमा भएको तर बानियाँले पालना नगरेको लामा पक्षको गुनासो छ ।
लामासहितका सांसदहरु पार्टी नेतृत्वलाई गुनासो राख्न २० साउनमै काठमाडौं पुगेका थिए । सभापति देउवासँग भेट गरेर लामा पक्षका सांसदहरु २७ साउन सोमबार मात्रै हेटौंडा आएका थिए । ३ जनालाई मन्त्री नबनाएसम्म मुख्यमन्त्री बानियाँलाई विश्वासको मत नदिने अडान लिएको बहादुर पक्ष साउन २७ गते प्रदेश सभा बैठक सुरु हुनासाथ प्रदेशसभा भवनमा प्रवेश गरेको थियो । उनीहरुले साउन २७ गते नै बानियाँलाई विश्वासको मतको पक्षमा मतदान गरेका थिए ।