अमेरिकी बजारमा निर्यात बढाउन १० प्रतिशत शुल्क उपयोग गर्न जोड

कार्यक्रममा चेम्बरले विभिन्न नेपाली निर्यातकर्तालाई सम्मान गरेको छ । जसमा आठ विधामा उत्कृष्ट निर्यातकर्ता र आयातमा पनि सम्मान गरिएको थियो ।

३० साउन, काठमाडौं । नेपाल–अमेरिका चेम्बर अफ कमर्स अध्यक्ष किरणप्रकाश साखले अमेरिकी शुल्क नीतिमा देखिएको अस्थिरताबाट आफू चिन्तित भए पनि यसको लाभ नेपालले लिन सक्ने बताएका छन् ।

नेपाललाई अमेरिकाले १० प्रतिशतमात्र भन्सार दर निर्धारण गरेकाले यसको लाभ निर्यातबाट लिन सकिने उनको भनाइ छ ।

संघ अध्यक्ष साखले नेपाल ट्रेड प्रेफरेन्स प्रोग्राम (एनटीपीपी) अन्तर्गत अमेरिकी बजारमा ७७ वस्तुमा ३१ डिसेम्बर २०२५ सम्म शुल्कमुक्त सुविधा पाए पनि राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशद्वारा यो सुविधा खारेज गरिएको बताए ।

नेपाल सरकारले अझै यसबारे कदम चाल्न बाँकी रहेको र यसको निरन्तरताको पक्षमा आफूहरू रहेको उनको भनाइ छ ।

‘२०२५ डिसेम्बरमा एनटीपीपी म्याद सकिँदै गर्दा अहिले पनि निर्यातकर्ताहरूले १० प्रतिशत आधारभूत शुल्क तिर्नुपरेको छ, यसैले शुल्क मुक्तको व्यवस्था व्यवहारमा लागु छैन,’ उनले भने ।

नेपाल–अमेरिका चेम्बर अफ कमर्सले टिफा (ट्रेड एन्ड इन्भेस्टमेन्ट फ्रेमवर्क एग्रिमेन्ट) परिषद् बैठकका लागि नेपाल सरकारलाई सल्लाह र सुझाव दिइरहेको उल्लेख गर्दै उनले टिफा अन्तर्गत गरिएका प्रतिबद्धता कार्यान्वयन गर्न पनि जोड दिइरहेको बताए ।

कार्यक्रममा चेम्बरले विभिन्न नेपाली निर्यातकर्तालाई सम्मान गरेको छ । जसमा आठ विधामा उत्कृष्ट निर्यातकर्ता र आयातमा पनि सम्मान गरिएको थियो ।

कार्पेट, रेडिमेड कपडा, हस्तकला, ऊनी फेल्ट, पश्मिना, छुर्पी तथा अमेरिकाबाट सबैभन्दा बढी आयात गर्ने र उत्कृष्ट स्टार्टअप उद्यमी तथा उत्कृष्ट महिला उद्यमीजस्ता विधा छन् । चेम्बरले आफ्ना सदस्यमध्ये आठ जनाले महत्त्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) सम्मान प्राप्त गरेको भन्दै उनीहरूलाई अभिनन्दन गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *