राप्रपाले थप ८ नेताहरूलाई अनुशासनको कारबाही गर्दै
राप्रपाको युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको अधिवेशनमा हो–हल्ला गरेको भन्दै चार जनालाई स्पष्टीकरण सोधिएको छ ।
१३ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले थप ८ जना नेतालाई अनुशासन विपरीतको गतिविधिमा कार्य गरेको भन्दै स्पष्टीकरण र कारबाहीको प्रक्रिया अघि बढाएको छ । काठमाडौं र सुर्खेतमा भएका पार्टीहित विपरीत काम गरेको भन्दै स्पष्टीकरण सोधेर कारबाही गर्ने प्रक्रिया अघि बढाइएको हो ।
राप्रपाको युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको अधिवेशनमा हो–हल्ला गरेको भन्दै चार जनालाई स्पष्टीकरण सोधिएको छ ।
अनुशासन समितिको बैठक बसेर उनीहरूलाई कारबाही गरिने ती नेताले जानकारी गराए ।
रिद्धिप्रताप राणाले कार्यसम्पादन समितिमा बोलेको विषयलाई लिएर नेता ठाकुर मोहन श्रेष्ठलाई आक्रमण गरेको आरोप समेत लागेको थियो । लिङ्देन निकट ती नेताले भने, ‘त्यो बेलामा रिद्धिप्रतापलाई कारबाही गरेको थियो ।’
सुर्खेतको केन्द्रीय कार्यालय तालाबन्दी गर्न उक्साएको आरोपमा अन्य तीन नेतालाई पनि कारबाही प्रक्रिया सुरु गरिएको छ । अध्यक्ष लिङ्देनले पदमुक्त गरेका उपाध्यक्ष मुकुन्दश्याम गिरीको गृहजिल्ला सुर्खेतमा पार्टी कार्यालय तालाबन्दी गर्न उक्साएको दाबी संस्थापन पक्षले गरेको छ ।
केन्द्रीय सदस्य जनक सिंह, भिमबहादुर शाही र तालाबन्दीमा संलग्न भएकोमा युवक संगठनको नेता प्रेम बिसी र लक्ष्मी कुमारी सार्कीलाई स्पष्टीकरण सोधिएको छ ।
लक्ष्मी कुमारी सार्कीले अनधिकृत रुपमा कार्यसमितिको बैठक राखेको जानकारी गराइएको छ ।
‘अनुशासन समितिले स्पष्टीकरण सोधेको छ । सबै स्पष्टीकरणहरू प्राप्त भइसकेका छन् । रोशन कार्की नेतृत्वको अनुशासन समितिले कारबाही प्रक्रिया अगाडि बढाउँदै छ,’ सचिवालयले बताएको छ ।