रबि लामिछानेलाई रातारात पोखरा पुर्‍याइयो


२० मंसिर, चितवन । रबि लामिछानेलाई चितवनमा बयान सकिएपछि जिल्ला प्रहरी कार्यालय चितवनकै हिरासतमा राखिने भनिए पनि राति नै उनलाई पोखरा पुर्‍याइएको छ ।
लामिछाने विरुद्ध चितवनको साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा चितवन जिल्ला अदालतले मंसिर ५ गते उनी सहित १० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । चितवन जिल्ला सरकारी वकील कार्यालयले मंगलबार र बुधबार दुई दिन लामिछानेको बयान लिएको थियो । पहिलो दिन पाँच घण्टा र दोस्रो दिन १० घण्टा बयान लिइएको थियो । दुई दिनमा लामिछानेलाई ७५ वटा प्रश्न गरेर बयान लिइएको स्रोतले जानकारी दिएको छ । उनको लिखित बयान करिब ४२ पृष्ठको छ ।
लामिछानेलाई चितवन ल्याएपछि रास्वपाले हिजो भरतपुरमा प्रदर्शन गरेको थियो । दिउँसो केही बेर जिल्ला प्रहरी कार्यालय अगाडि रास्वपाका कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको थियो । झडपमा प्रहरी र प्रदर्शनकारी दुवैतर्फ विभिन्न व्यक्ति घाइते भएका थिए ।
यसबीच लामिछाने विरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ । वीरगञ्जको सानो पाइला सहकारीको बचत अपचलनको विषयमा अनुसन्धान गर्न बुधबार पर्सा जिल्ला अदालतले लामिछानेसँगै गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष पूर्वडीआईजी छविलाल जोशी सहित १४ जनालाई पक्राउ अनुमति दिएको पर्सा प्रहरी प्रमुख कुमुद ढुंगेलले जानकारी दिनु भयो।
लामिछाने प्रबन्ध निर्देशक रहेका वेला उक्त सहकारीबाट करिब आठ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको तथ्य प्रहरीले फेला पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *