गाउपालिकाद्धारा गैरसरकारी संस्थासँग मिलेर माओवादी सशस्त्र जनयुद्धका तस्बिर समेटी पाठ्यपुस्तक प्रकाशन
गोरखा । गोरखाको अजिरकोट गाउँपालिकाले गैरसरकारी संस्थासँग मिलेर तत्कालीन माओवादीको सशस्त्र जनयुद्धमा भएका कृयाकलापका तस्बिर लाई समेटेर स्थानीय विषयको पाठ्यपुस्तक प्रकाशन गरेको पाइएको छ ।
रुम टु रिड नामक गैरसरकारी संस्थाका अनन्त वाग्ले, राजन सापकोटा र एलबी खड्का सम्पादन साथै अजिरकोट गाउँपालिका प्रकाशक रहेको उत्त पाठ्यपुस्तक छापिएर बितरणको लागि स्कुलमा पुर्याइएको छ ।
स्थानीय विद्यालयका शिक्षकहरू कालिकाप्रसाद अधिकारी, विष्णुप्रसाद अधिकारी, बुद्धिबहादुर विक, वीरबहादुर गुरुङ, हरिराम दवाडी, वीरेन्द्र कोइली, प्रदीप शेर्पा, दिल धामी र सन्तोष खनाल उत्त किताबका लेखक हुन्।
कक्षा ५ को पाठ्यपुस्तकको पाठ १६ मा माओवादी जनयुद्ध सम्बन्धी विषयवस्तु समावेश गरेको हो। अजिरकोट सेरोफेरो नाम राखेर छापिएको सो पुस्तकको पेज नं. ४५ मा सामाजिक चेतना विषय क्षेत्रअन्तर्गत ‘जनयुद्ध र गणतान्त्रिक नेपाल’ शीर्षक राखिएको छ। सो पाठमा प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं, विद्रोह जनताको अधिकार हो, ‘जनयुद्ध जिन्दावाद’ लगायतका नारा लेखिएका पोस्टरहरू राखिएका छन्। त्यस्तै सो पाठको सुरुमै जनता नै इतिहासका निर्माता हुन्– ‘माओ’, भनेर माओत्से तुङको भनाइ उल्लेख गरिएको छ। यस्तै,‘‘जनमुक्ति सेना’ का तस्बिर समेत राखिएका छन्।
कक्षा ५ लाई पढाउन भनेर तयार पारिएको सो पुस्तकको अन्तिम पाठमा जनवादी राज्यसत्ता स्थापनाका लागि माओवादी पार्टीले ०५२ सालदेखि जनयुद्ध सुरु गरेको, जनयुद्धको प्रथम सहिद दिलबहादुर रम्तेल भएको, जनयुद्धको सिलसिलामा १७ हजारभन्दा धेरैले सहादत प्राप्त गरेको लगायतका विषयवस्तु समेटिएका छन्।
उत्त पुस्तकका संरक्षक गाउँपालिकाका अध्यक्ष दीपक देवकोटा हुन् भने शिक्षा शाखाका प्रमुख सीताराम पन्त निर्देशक रहेका छन् ।