झुम्का कारागारमा ज्वरोको प्रकोप : ३ जनाको मृत्यु, ४०० बढी बिरामी

मृतक तीनमध्ये दुई जनामा एउटै समस्या थियो, उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या ।

१९ भदौ, विराटनगर । पछिल्लो चार दिनयता सुनसरीको झुम्का कारागारमा तीन जना कैदी बन्दीको मृत्यु भएको छ ।

भाइरल ज्वरोको प्रकोप फैलिएको कारागार रहेका एक जना बन्दीको बुधबार साँझ मृत्यु भएको  थियो । आइतबार र सोमबार पनि एक/एक जनाको मृत्यु भएको थियो । मृतक तीनमध्ये दुई जनामा एउटै समस्या थियो, उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या ।

निमित्त जेलर राम निरौलाका अनुसार बुधबार बेलुका सप्तरीको राजविराज-८ घर भई  झुम्का कारागारमा रहेका बन्दी ४६ वर्षीय जलेश्वर यादवको मृत्यु भएको हो ।

यादवलाई उच्च ज्वरो र श्वास प्रश्वासमा समस्या आएपछि बुधबार साँझ जिल्ला अस्पताल इनरुवामा भर्ना गरिएको थियो । जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका उनको उपचरका क्रममा मृत्यु भएको हो ।

जेलर निरौलाका अनुसार भदौ १५ गते रामदेव उराउको मृत्यु भएको थियो । भदौ १६ गते सागर राईको मृत्यु भएको हो । उराउ कर्तव्य ज्यान र राई लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका थिए ।

उराउमा उच्च ज्वरो र श्वासप्रश्वासको समस्या थियो । राई भने शरीर नचलेका कारण केहीदिनदेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थिए ।

ज्वरोको प्रकोप झुम्का कारागारको ब्लक ‘ए’ र ‘बी’ गरी १ हजार ७ सय ९५ जना कैदीबन्दी छन् । तीमध्ये ४०० बढीमा ज्वरोको समस्या छ । जेलर निरौलाका अनुसार ती मध्ये १९ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *