राजनीतिक कनेक्सनका आधारमा रोकिएका फाइल खुल्छन् –गृहमन्त्री अर्याल
शुक्रबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) कार्यालयको निरीक्षणपछि पत्रकारसँग कुराकानी गर्दै गृहमन्त्री अर्यालले राजनीतिक कनेक्सनका आधारमा रोकिएका फाइलहरू अघि बढ्ने बताएका हुन्।
१० असोज, काठमाडौं । काठमाडौं — गृहमन्त्री ओमप्रकाश अर्याल निरिक्षणका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) पुगेका छन् । निरिक्षणपछि गृहमन्त्री अर्यालले राजनीतिक कनेक्सनका आधारमा रोकिएका सबै प्रकारका फाइलहरू अनुसन्धान हुने बताएका छन्।
शुक्रबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) कार्यालयको निरीक्षणपछि पत्रकारसँग कुराकानी गर्दै गृहमन्त्री अर्यालले राजनीतिक कनेक्सनका आधारमा रोकिएका फाइलहरू अघि बढ्ने बताएका हुन्।
शान्ति सुरक्षा र सुशासन कायम गर्दै आगामी चुनाव सम्पन्न गर्न पनि राजनीतिक कनेक्सनका फाइल खोल्नुपर्ने उनले बताए । मन्त्री अर्यालले भने, ‘पोलिटिकल कनेक्सनका आधारमा जे कुरा रोकिएको थियो, जे कुरा बिथोलिएको थियो । त्यस्तो अब हुँदैन ।’
उनले थपे, ‘यो सरकारको म्यान्डेट नै सुशासन हो । सुशासनविना शान्ति सुरक्षा हुन सक्दैन । शान्ति सुरक्षा भएन भने ६ महिनाभित्र इलेक्नस गर्न पनि सकिँदैन ।’
जेनजी युवाको प्रदर्शनको क्रममा गत भदौ २४ गते महाराजगञ्जस्थित सीआईबीको कार्यालयमा पनि क्षति पुगेको थियो । त्यसको अवलोकनपछि उनले अपराध अनुसन्धानको क्रममा रोकिएका फाइलहरु खुल्ने बताए ।
‘कतिपय अपराध अनुसन्धानमा, आर्थिक अपराध अनुसन्धान, वित्तीय अपराध अनुसन्धान लगायत भ्रष्टाचारका विषयवस्तुहरुमा जुन खालको अवरोध आइरहेको थियो, त्यो अवरोध अब हामीले फुकाउनुपर्छ भन्ने मेरो अपेक्षा बमोजिमको निर्देशनहरु दिएको छु’ उनले भने ।