विराटनगरमा ब्राउन सुगर बरामद, २ भारतीयसहित ४ जना पक्राउ

मंगलबार राति ८:४५ बजेतिर विराटनगर–११ बसपार्कबाट २ जना भारतीय पक्राउ परेको जानकारी एसपी कटवालले दिए ।

विराटनगर : विराटनगरका विभिन्न स्थानबाट ठूलो परिमाणमा लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) बरामद भएको छ । ब्राउन सुगरसहित २ भारतीय ४ जना पक्राउ परेका हुन्।

विराटनगर महानगरपालिका–१३ बाट २ जना पक्राउ परेका छन् । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार सडकको साइडमा रोकेर राखिएको को १४ प ४५८७ मोटरसाइकलमा बसेर कुराकानी गरिरहेका विराटनगर महानगरपालिका–८ का २८ वर्षीय अजयकुमार मुखिया र विराटनगर–१६ का अजयकुमार राउतलाई मंगलबार साँझ ५ बजेतिर पक्राउ गरिएको हो ।

लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको सई प्रकाशचन्द्र अधिकारी नेतृत्वको टोलीले शंकास्पद अवस्थामा रहेका उनीहरुलाई चेकजाँच गर्दा मुखियाको साथबाट १ सय ४० ग्राम १८ मिलिग्राम खैरो हेरोइन बरामद भएको जानकारी एसपी कटवालले दिए । दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

यसैबीच, मंगलबार राति ८:४५ बजेतिर विराटनगर–११ बसपार्कबाट २ जना भारतीय पक्राउ परेको जानकारी एसपी कटवालले दिए । लागू औषध नियन्त्रण ब्यूरो विराटनगरका सई प्रकाशचन्द्र अधिकारी र वडा प्रहरी कार्यालय विराटनगरबाट इन्स्पेक्टर अप्रिल चापागाईं नेतृत्वको संयुक्त टोलीले भारत बिहार फारबिसगन्ज कोहलियाका २८ वर्षीय मोहमद मोजाहित र फारबिसगन्ज पलासीका २० वर्षीय राजकुमार दासलाई पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये मोजाहितले लगाएको जम्फरमा प्लाष्टिकमा पोको पारेर राखेको अवस्थामा १ सय ५२ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको जानकारी प्रहरीले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *