सिरहाको बेल्हामा गोली चल्यो, बुबा-छोरा घाइते

वीरेन्द्रको पेटमा गोली लागेको छ भने अनिलको छातीमा गोली लागेको छ ।

सिरहा : सिरहाको कल्याणपुर नगरपालिका-१२ बेल्हामा मध्यरातमा गोली चलेको छ । गाउँमा आइपुगेका ८/१० जनाको अपरिचित समूहले गोली चलाएको बताइएको छ ।

गोली प्रहारबाट स्थानीय ४२ वर्षीय वीरेन्द्र महतो र उनका छोरा २३ वर्षीय अनिल महतो गम्भीर घाइते छन् । उनीहरू दुवै जनालाई उपचारका विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको छ ।

वीरेन्द्रको पेटमा गोली लागेको छ भने अनिलको छातीमा गोली लागेको छ । अज्ञात समूह करिब राति १ बजेको समयमा गाउँमा आइपुगेका थिए । उक्त समूह स्थानीय भोला महतोको घरमा पुगेपछि होहल्ला मच्चिएको थियो ।

त्यसपछि प्रतिकार गर्न खोज्दा उनीहरूमाथि गोली चलाइएको स्थानीयले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *