सिमरा विमानस्थलमा जेनजीको घेराबन्दी: बस्नेत–पोखरेल चढेको जहाज काठमाडौंमै रोकियो

विमानस्थलको सुरक्षा जिम्मा थप कडा बनाइएको छ। जनपथ तथा सशस्त्र प्रहरी बलको ठूलो टोली अहिले विमानस्थल परिसरमै तैनाथ छ।

बारा-  नेकपा एमाले नेता महेश बस्नेतको आगमनको विरोधमा सिमरा विमानस्थल तनावपूर्ण बनेको छ। बस्नेत र एमाले महासचिव शंकर पोखरेल चढेको जहाज सिमरा अवतरण गर्न नदिने भन्दै जेनजी समूहका युवाहरूले विमानस्थल घेराउ गरेपछि प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ।

बस्नेत मधेस प्रदेश स्तरीय युवा जागरण अभियान कार्यक्रममा सहभागी हुन आज बारा आउने कार्यक्रम तय भएपछि स्थानीय जेनजी समूहले तीव्र विरोध जनाएको थियो। विरोध स्वरूप विमानस्थललाई नै घेराउ गरेपछि प्रहरीले बल प्रयोग गर्दै भीड हटाउने प्रयास गरेको हो। निरन्तर धकेलाधकेलका बीच दुवै पक्षबीच झडप भएको प्रहरी स्रोतले जनाएको छ। उनीहरुले मुल गेट नै तोडेका छन्।

विमानस्थलको सुरक्षा जिम्मा थप कडा बनाइएको छ। जनपथ तथा सशस्त्र प्रहरी बलको ठूलो टोली अहिले विमानस्थल परिसरमै तैनाथ छ। नेता बस्नेतलाई लिन पूर्वमन्त्री तथा एमाले नेता किसान श्रेष्ठ, ज्वालाकुमारी साह, अच्युत मैनालीलगायतका नेता विमानस्थलमै उपस्थित छन्। उनीहरूलाई पनि प्रहरीले सुरक्षा घेराभित्र राखेको छ।

उता, काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत तनावको असर पुगेको छ। बुद्ध एयरको जहाज काठमाडौंबाट उड्नै लागेका बेला सिमराबाट ‘विमान अवतरण अवरुद्ध’ भएको खबर आउनासाथ उडान रोकिएको पत्रकार राजन कुइँकेलले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन्।

“शंकर पोखरेल र महेश बस्नेत जाने थाहा पाएपछि हाम्रो विमानलाई अवतरण नदिने भएपछि यात्रुलाई ओरालिन लगाइयो,” कुइँकेलले लेखेका छन्, “विमानस्थल नै बन्द गर्ने काम गम्भीर विषय हो।”

यसबीच बारा प्रहरी प्रमुख एसपी सन्तोष तामाङले विमानस्थल वरिपरि भीड बढ्दो क्रममा रहेको पुष्टि गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *