सेयर बजार २६०० अंकमा, सवा ६ अर्बको कारोबार
तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सागर डिस्टिलरी,बन्दिपुर,झापा इनर्जीको सेयर १० प्रतिशतले बढ्यो।
काठमाडौं : साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ३९.९२ अंकले बढेर २६००.२२ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स ७.६३ अंकले बढेर ४४८.२० विन्दुमा अडिएको छ।
यसदिन ३३४ स्क्रिप्सको १ करोड ३३ लाख ८१ हजार ९२६ कित्ता सेयर ६ अर्ब २८ करोड ६७ लाख ३३ हजार ९१६ रुपैयाँमा खरिदबिक्री भए।
तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सागर डिस्टिलरी,बन्दिपुर,झापा इनर्जीको सेयर १० प्रतिशतले बढ्यो। स्वस्तिक लघुवित्तको सेयर ८.१९ प्रतिशतले बढ्दा छ्यांदी हाइड्रोपावरको ६.२७ प्रतिशतले बढ्यो।
पिपुल्स हाइड्रोपावरको सेयर भने यस दिन सर्वाधिक घट्यो। उक्त कम्पनीको सेयर ७.६५ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर शीर्षस्थानमा रह्यो। सो कम्पनीको ६५ करोड मूल्य बराबरको कारोबार भयो। पिपुल्स हाइड्रोपावरको ३४ करोड बराबरको सेयर कारोबार हुँदा राधी विद्युतले २१ करोड,नेपाल रिइन्स्योरेन्सको १७ करोड र शिवम् सिमेन्टले १५ करोड बराबरको सेयर कारोबार गरे।
कारोबारमा आएकामध्ये २३७ स्टक्सको मूल्य बढ्दा १८ वटाको घट्यो। २ स्टक्सको मूल्य भने स्थिर रह्यो। म्युचुल फण्डबाहेक अन्य समूहको उपसूचक सकारात्मक देखिए।